
धरान: फिल्मको प्रिमियरमा कलाकार, साहित्यकार तथा राजनीतिज्ञबाट आउने प्रशंसाभन्दा हलमा पुगेर फिल्म हेर्ने वास्तविक दर्शकको प्रतिक्रिया महत्वपूर्ण हुने निर्देशक माओत्से गुरुङले बताएका छन्।
‘पेन्सन पट्टा’को प्रचारप्रसारका क्रममा बुधबार धरान आएका गुरुङले प्रिमियरमा फिल्म राम्रो रहेको प्रतिक्रिया आउनु स्वाभाविक भए पनि त्यसले मात्रै फिल्मको सफलता निर्धारण नगर्ने बताए। “एक–दुई जनाले राम्रो भन्दैमा फिल्म हिट हुँदैन, दर्शकले हलमा गएर हेरेर अनुभूति गरेपछि मात्रै राम्रो–नराम्रो छुट्याउँछन्,” उनले भने।
गुरुङ निर्देशित ‘पेन्सन पट्टा’ भदौ २६ गतेदेखि प्रदर्शनमा आएको छ। फिल्मले गोर्खा सैनिकको पेन्सन, पारिवारिक सम्बन्ध, प्रेम, त्याग र भावनात्मक संघर्षलाई कथाको केन्द्रमा राखेको छ।
पत्रकारसँग कुरा गर्दै गुरुङले गोर्खा सैनिकको निधनपछि परिवारले पाउनुपर्ने पेन्सन सहज रूपमा प्राप्त गर्न नसक्दा उत्पन्न हुने समस्या, पारिवारिक सम्बन्ध र भावनात्मक संघर्षलाई फिल्मले कथाको केन्द्रमा राखेको बताए। धन, सम्पत्ति र प्रतिष्ठाभन्दा मानवीय सम्बन्ध, त्याग र आत्मिक सन्तुष्टिलाई फिल्मले प्राथमिकता दिएको उनको भनाइ छ।
फिल्ममा लाहुरे जीवनसँग जोडिएको पेन्सन, पारिवारिक सम्बन्ध, प्रेम, त्याग र सामाजिक संरचनालाई प्रस्तुत गरिएको छ। पेन्सन पट्टामा आमाको नामको सट्टा बाबुको पहिलो पत्नीको नाम रहेको प्रसंगबाट कथा अघि बढ्दै वर्षौंदेखि परिवारको स्मरणबाट ओझेलमा रहेकी जेठी आमाको खोजी, पारिवारिक विगत, सम्बन्धको दूरी, पहिचान र पेन्सन अधिकारसँग जोडिएका जटिलतालाई कथामा समेटिएको निर्देशक गुरुङले बताए।
याक्थुङ चलचित्र संघका अध्यक्ष नवीन मेन्याङ्बोले ‘पेन्सन पट्टा’ नेपाली माटोको कथा भएको बताए।
फिल्ममा दयाहाङ राईसँगै गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ र माया गुरुङलगायतको अभिनय छ।
मीन कोन्मे गुरुङ सिकलेस, भोजबहादुर गुरुङ यूके, माया गुरुङ र सपना गुरुङ निर्माता रहेको फिल्ममा डीबी गुरुङ प्रोडक्सन म्यानेजर छन्। सुशन प्रजापतिको छायांकन तथा सुरज तामुको कास्टिङ निर्देशन रहेको छ।

