
धरान: धरान १६ स्थित यु एन नवोदय स्कुलले गत भदौ १० गते भएको अकल्पनीय प्राकृतिक विपत्तिबाट प्रभावितहरूका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १२ हजार १ सय ११ रुपैयाँ सहयोग जम्मा गरेको छ।
उक्त रकम यु एन नवोदयका विद्यार्थी, शिक्षक, शिक्षिका, कर्मचारी तथा विद्यालय, +२ कलेज र कलेज व्यवस्थापनको संयुक्त पहलमा संकलन गरी सोमबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको आधिकारिक खातामा जम्मा गरिएको हो।
विपत्तिका बेला संस्थागत रूपमा ऐक्यबद्धता जनाउँदै सामाजिक उत्तरदायित्व पूरा गर्नु सबैको कर्तव्य भएको विद्यालयका प्रधानाध्यापक डम्बरकुमार तुम्बापोले बताए। “विपत्ति लगत्तै हाम्रा विद्यार्थी र शिक्षक-कर्मचारीहरूले व्यक्तिगत तथा स्वैच्छिक रूपमा राहत र सहयोग गरिरहनुभएकै थियो,” प्रधानाध्यापक तुम्बापोले भने, “तर यो संस्थागत रूपमा गरिएको सानो मानवीय प्रयास हो, जसले विपत्तिमा परेका आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई मलम लगाउन सहयोग पुग्ने विश्वास लिएका छौँ।”
यु एन नवोदय पठनपाठनमा मात्र सीमित नरही राष्ट्रिय संकट र सामाजिक अभियानहरूमा सधैँ अग्रपंक्तिमा रहँदै आएको छ। संस्थाका जनसम्पर्क अधिकृत रामबहादुर लिम्बूले यु एन नवोदयले यसअघि पनि धरानको चर्चित कोकाहा खानेपानी अभियानमा सहयोग गर्नुका साथै महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्र सञ्चालनका लागि समेत आर्थिक योगदान पुर्याएको बताए ।
”हामीले शिक्षासँगै विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्व र मानवीय भावनाको विकास होस् भन्ने उद्देश्य राखेका छौँ,” जनसम्पर्क अधिकृत लिम्बूका अनुसार, “अघिल्ला सामाजिक अभियानहरू जस्तै यो सहयोग पनि संस्थाको सोही निरन्तरताको एक हिस्सा हो। आगामी दिनमा पनि देशलाई पर्ने जुनसुकै संकटमा यु एन नवोदय परिवार सहकार्यका लागि तयार रहनेछ।”

