
धरान: धरानमा पहिलोपटक रात्रीकालिन महिला अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।
डि–१९ क्लब धरान–१९ को आयोजनामा ‘प्रथम धरान महिला अन्तर्राष्ट्रिय गोल्डकप–२०८३’ आगामी कार्तिक २८ देखि मंसिर ६ गतेसम्म धरान रंगशालामा सञ्चालन हुने भएको हो। बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिताबारे जानकारी दिएको हो।
महिला फुटबलको विकाससँगै स्थानीय खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरका खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा ८ वटा टोली सहभागी हुनेछन्। नेपालका एपीएफ क्लब, नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, आक्वा फुटबल क्लव भारत, बागमती फुटबल क्लब, उदयपुर फुटबल क्लब, आयोजक स्वर्णिम फुटबल क्लव धरान लगायतका टोलीसँगै भारतको सिक्किमबाट समेत टोली सहभागी हुने आयोजकको तयारी छ।
प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ र उपविजेताले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ। बेस्ट किपर, बेस्ट डिफेन्स, बेस्ट मिडफिल्डर, बेस्ट फरवार्ड, बेस्ट कोच र सर्वाधिक गोलकर्तालाई जनही १५ हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ। प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ईभी स्कुटर प्रदान गरिनेछ।
डि–१९ क्लबका अध्यक्ष तथा प्रतियोगिता संयोजक सन्तोष राईले धरानलाई महिला फुटबलको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए।
प्रतियोगिता सञ्चालनका लागि करिब ९१ लाख १० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ।

