
धरान: नेपाली कम्युनिष्ट पार्टी धरान उपमहानगर कमिटीले बाढीपहिरो प्रभावित नागरिकको राहत तथा उद्धारका लागि १ लाख १४ हजार ६ सय ५५ रुपैयाँ सहयोग गरेको छ।
पार्टीका धरान उपमहानगर कमिटी संयोजक सिपी बजगाईँको संयोजकत्वमा बिहीबार धरान बजार क्षेत्रमा राहत संकलन गरी उक्त रकम प्रधानमन्त्री राहत कोषमा पठाइएको हो।
पार्टीले बिहीबार बिहान ११ बजेदेखि दिनभर बजार क्षेत्रमा राहत संकलन गरेको थियो। संकलित रकम साँझ प्रधानमन्त्री राहत कोषमा पठाइएको संयोजक बजगाईँले जानकारी दिए।
उनका अनुसार विपद्को समयमा सहयोग गर्ने संस्कारको विकाससँगै अन्य सहयोगी हातलाई समेत प्रेरणा मिलोस् भन्ने उद्देश्यले राहत रकम प्रदान गरिएको हो।
रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले राहत संकलन गरिएको पार्टीले जनाएको छ।

