
धरान: ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपुर दरबार क्षेत्रमा रहेका लिम्बू समुदायका पुराना समाधि (चिहान) भत्काइएको भन्दै किरात याक्थुङ चुम्लुङ धरान नगर समितिले आपत्ति जनाएको छ। चुम्लुङले समाधान स्थल पुनः निर्माण भए माफी दिन सकिने समेत बताएको छ।
बुधबार धरानमा आयोजित पत्रकार सम्मेलनमा चुम्लुङका अध्यक्ष तीर्थराज मादेम्बाले विजयपुर दरबार परिसरको मूल क्षेत्रमा रहेको सेन्ट्री तथा स्मारक आसपास करिब दुई दर्जन समाधि जेठ २ गते अवलोकनका क्रममा भत्किएको अवस्थामा फेला परेको बताए।
अध्यक्ष मादेम्बाले भने‘ बैशाखे पूर्णिमापछि समाधि स्थलमा ढुंगा–माटो उखेलेर फालिएको अवस्थामा भेटिएको छ। “त्यसअघि समाधि स्थल ठीक थियो, पछि मात्र भत्काइएको अवस्था देखियो। फोटो र भिडियो प्रमाण पनि छ।,”
उनले थपे, “जसले भत्काएको हो, उसैले पुनः निर्माण गरे माफी दिन्छौं। नत्र कानुनअनुसार अघि बढ्छौं।” चुम्लुङले यस विषयमा धरान उपमहानगरपालिका र इलाका प्रहरी कार्यालयमा समेत निवेदन दिइसकेको बताए ।
मादेम्बाले उक्त क्षेत्रमा जवेगु,थेगिम, देवानहाङ र कन्दङवा लगायत जातीय समुदायका समाधि रहेका छन्, जसमा सम्बन्धित जातीय संगठनहरूले पनि आपत्ति जनाउँदै कानुनी प्रक्रियामा जाने चेतावनी दिएको बताए ।
संस्थाले प्रारम्भिक अध्ययनमा ती समाधिहरू याक्थुङ लिम्बू समुदायसँग सम्बन्धित रहेको देखिएको जनाएको छ। करिब सय वर्ष पुराना चिहानमा प्रयोग भएका ढुंगा र इट्टा उखेलेर फालिएको भन्दै चुम्लुङले यसलाई संवेदनहीन, अमानवीय र असामाजिक कार्यको संज्ञा दिएको छ।
चुम्लुङले समाधि स्थलमा गैर–लिम्बू पहिचानका प्रतीकहरू गाडेर अतिक्रमण गर्ने प्रयाससमेत भएको आरोप लगाउँदै त्यस्ता सामग्री हटाउन सम्बन्धित पक्षसँग माग गरेको छ। अन्यथा सरोकारवालाहरू आफैं हटाउन बाध्य हुने चेतावनी समेत दिएको छ।
विज्ञप्तिमा मुलुकी देवानी संहिता, २०७४ अनुसार समाधि स्थल अतिक्रमण तथा क्षति गर्न निषेध गरिएको उल्लेख गर्दै घटनामा संलग्न व्यक्तिहरूको खोजी गरी कानुनअनुसार कारबाही गर्न माग गरिएको छ। साथै भत्काइएका समाधिहरू तत्काल पुनर्निर्माण गरी पूर्ववत् अवस्थामा संरक्षण गर्न स्थानीय सरकारसँग आग्रह गरिएको छ।
चुम्लुङले विजयपुर दरबार परिसर राष्ट्रिय ऐतिहासिक तथा पुरातात्विक सम्पदा भएकाले यसको संरक्षण, प्रवर्द्धन र विकासका लागि स्थानीय सरकारले स्पष्ट नीति तथा कार्ययोजना ल्याउनुपर्ने आवश्यकता औंल्याएको छ।
संस्थाले विजयपुर दरबार क्षेत्रलाई अभिलेखीकरण गर्दै दीर्घकालीन रूपमा विश्व सम्पदा सूचीमा सूचीकृत गराउने लक्ष्यसहित संरक्षण परियोजना अघि बढाउनुपर्ने माग गरेको छ। साथै लिम्बू समुदायको स्वतन्त्र, अग्रिम तथा सूचित सहमति सुनिश्चित गर्दै आवश्यक बजेट विनियोजन गर्न पनि आग्रह गरिएको छ।
त्यस्तै, दरबार परिसरभित्र रहेका समाधि, गढी, मठ, मन्दिर तथा अन्य पुरातात्विक संरचनाको संरक्षण गर्दै यस क्षेत्रलाई ऐतिहासिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न स्थानीय सरकारलाई चुम्लुङले पुनः आग्रह गरेको छ।


