
धरान: खेलकुदमार्फत वडा २० लाई थप चिनाउन तथा खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नयाँ वर्ष २०८३ को अवसर पारेर विष्णुपादुका स्थित सिरिसे खेल मैदानमा “प्रथम वडा स्तरीय भेट्रान फुटबल प्रतियोगिता” आयोजना हुने भएको छ।
प्रतियोगिता वैशाख १९ देखि २५ गतेसम्म सञ्चालन हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक विष्णु सांस्कृतिक युवा क्लबले जनाएको हो।
प्रतियोगितामा धरानका १४ वटा वडाका टोली सहभागी हुनेछन्।
प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले २५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन्। उत्कृष्ट खेलाडीहरूलाई विभिन्न विधामा सम्मान गरिनेछ।
क्लबका अध्यक्ष विजय तामाङका अनुसार प्रतियोगितामा वडा २० का दुई टीम सहित वडा १, ३, ४, ८, १०, ११, १३, १५, १६, १७, १८ र १९ का टीमको सहभागीता हुने भएको छ ।
प्रतियोगिता ९–ए–साइड ढाँचामा खेलाइनेछ,जसमा ३७ , ३८ उमेरका १ /१ गरि २ जना सहित १३ जनाले सहभागीता जनाउने भएका छन । प्रतियोगितामा ४० बर्ष भन्दा माथिका समूहअनुसार खेलाडीको अनिवार्य सहभागिता निर्धारण गरिएको छ।
प्रतियोगिता सञ्चालनका लागि करिब ५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।
खेलकुदमार्फत वडा २० लाई थप चिनाउन र खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको अध्यक्ष तामाङले बताए। फुटबल सबै उमेर समूहले रुचाउने खेल भएकाले प्रतियोगिताले स्थानीय खेलाडीलाई प्रोत्साहन गर्नुका साथै दर्शकलाई पनि आकर्षित गर्ने विश्वास गरिएको छ।
भौगोलिक रूपमा केही विकट मानिने वडा २० मा खेलकुदप्रति युवाहरूको उच्च रुचि भए पनि पूर्वाधार र स्रोतको अभाव रहेको अध्यक्ष विजय तामाङले बताएका छन्। उनका अनुसार स्थानीय सरकारले खेलकुद प्रवर्द्धनमा अपेक्षित ध्यान दिन नसकेको अवस्था छ। उपेक्षित रहेको वडालाई खेलमार्फत चिनाउँदै स्थानीय, प्रदेश र संघीय सरकारको ध्यान खेलकुद विकासतर्फ आकर्षित गर्ने उद्देश्य राखिएको उनले स्पष्ट पारे।
वडा २० धार्मिक तथा पर्यटकीय दृष्टिले समेत महत्वपूर्ण क्षेत्रका रूपमा चिनिन्छ। विष्णुपादुका मन्दिर, गुम्बा, साकेला थान, सुलिकोट, मुन्धुम यक, हिमालयन ध्यान केन्द्र, झण्डी डाँडा, भवानी थान, सिद्ध पोखरी, चिण्डेडाँडा, ब्रिटिस गोर्खा पार्क तथा श्रमसंस्कृति पार्क जस्ता स्थलहरू यहाँका प्रमुख आकर्षण हुन्। प्रतियोगिताले आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास आयोजकले लिएको छ।


