
धरान: सुनसरीमा लागुपर्दार्थ प्रयोगकर्ता महिला संलग्न ४७० महिलामध्ये केवल २९१ जनाले मात्र यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सेवा सुविधा लिएको तथ्य सार्वजनिक भएको छ। लक्षित वर्गसम्म सेवा पहुँच सहज बनाउने उद्देश्यले दृष्टि नेपाल र नेपाल परिवार नियोजन संघ सुनसरीको संयुक्त आयोजनामा आईतबार धरानमा एकदिने प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रम अन्तर्गत सुनसरीका धरान, इटहरी,रामधुनी र बराहक्षेत्र क्षेत्रमा सेवा विस्तार गर्ने लक्ष्य राखिएको छ। दृष्टि नेपालकी संस्थापक अध्यक्ष तथा कार्यक्रम निर्देशक परिना सुब्बा लिम्बुले डाक्टर–आधारित क्लिनिक सेवा धरान र इटहरीमा सुरु भइसकेको भएपनि रामधुनी र बराहक्षेत्रमा हालसम्म सेवा सञ्चालन सुरुवाती चरणमा रहेको बताईन ।
कार्यक्रममा प्रस्तुत तथ्यांकअनुसार डाटा डकुमेन्टेसन अफिसर सोना सुखेतीले लागुपदार्थ प्रयोगमा संलग्न ४७० महिलासँग सम्पर्क तथा समन्वय कायम रहे पनि हालसम्म केवल २९१ जनाले मात्र उपलब्ध सेवा सुविधा लिएको जानकारी दिइन्।
त्यसैगरी, नेपाल परिवार नियोजन संघ, सुनसरी शाखाकी प्रबन्धक रानु राउतले लक्षित वर्गसम्म सेवा पहुँच विस्तार गर्न सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको बताइन्। उनले दुर्व्यसनी तथा सिमान्तकृत महिलाहरूलाई यौन तथा प्रजनन स्वास्थ्य सेवामा जोड्न स्थानीय तह र सरोकारवालाबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गरिन्।
कार्यक्रममा विभिन्न समुदायका प्रतिनिधि, अपाङ्गता भएका युवा, यौनकर्मी महिला तथा एचआइभी सङ्क्रमित व्यक्तिहरूले आफ्नो अनुभव र सिकाइ प्रस्तुत गरेका थिए। उनीहरूले सङ्घमा आबद्ध भएपछि क्षमता अभिवृद्धि भएको अनुभव साझा गरेका थिए।
दृष्टि नेपाल र नेपाल परिवार नियोजन संघद्वारा आयोजित उक्त प्रशिक्षणले यौन तथा प्रजनन स्वास्थ्य सेवामा समावेशी पहुँच सुदृढ गर्न तथा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्न स्थानीयस्तरमा चेतना अभिवृद्धि गर्ने लक्ष्य राखेको आयोजकले जनाएको छ।
कार्यक्रममा सहभागीहरूले प्रदेशका प्रजनन उमेर समूहका सबै व्यक्तिमा गुणस्तरीय परिवार नियोजन सेवाको पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए।


