
धरान: धरान–१२ स्थित सुनसरी पोलिक्लिनिक एण्ड डाइग्नोसिस सेन्टर प्रालिमा मान्छे उपचार हुने स्थानमै कुकुरको उपचार गरिएको पाइएको छ।
गैरकानुनी र अवैधानिक ढङ्गबाट सञ्चालन भइरहेको उक्त पोलिक्लिनिकमा शनिबार करिब बिहान ११ बजे कुकुरको उपचार गरिएको हो।
कुकुरका धनीले सुनसरी पोलिक्लिनिकबाट कुकुरको एक्स–रे र उपचार गरिएको बताएका छन ।
सञ्चालक यादव ‘मान्छे पनि एनिमल नै हो’ पोलिक्लिनिकका सञ्चालक लालु प्रसाद यादवले आफूहरूले पशु उपचार गर्ने अनुमति नभएको स्वीकार गर्दै मानवीयताको आधारमा कुकुरको उपचार गरिएको बताएका छन्।
उनले भने, “मान्छे पनि एनिमल नै हो। तपाईंको कुकुरलाई आपत पर्यो भने हामी उपचार गर्छौं। धरानमा एनिमल उपचार गर्ने स्थान नभएकोले गरेका हौं।”
सञ्चारकर्मीले सञ्चालक यादवसँग पोलिक्लिनिकको अनुमति पत्र माग्दा उनले कडा प्रतिक्रिया दिँदै “म दिन्न !मेडिकल विभागलाई माग्नु, नत्र उतै मुद्दा लगाउनु ।” पोलिक्लिनिकका सञ्चालक यादवले आफूहरूले जनावरको उपचार गर्ने अनुमति नभएको स्वीकार गर्दे उनले धरान र इटहरी क्षेत्रमा पर्याप्त भेटेरिनरी अस्पताल नभएको अवस्थालाई देखाउँदै “मानवताको नाताले आपतकालीन अवस्थामा कुकुरको एक्स–रे गरिदिएको” बताएका छन्।
दैनिक कुकुर उपचार हुन्छ: कर्मचारी
उक्त पोलिक्लिनिकमा कार्यरत कर्मचारीहरूले कुकुरको उपचार दैनिकजसो हुने गरेको स्वीकार गरेका छन्। सञ्चारकर्मीहरूले “यो मान्छे उपचार गर्ने ठाउँ हो कि कुकुर उपचार गर्ने ?” भन्ने प्रश्न गर्दा कर्मचारीहरूले “खै हामी त कर्मचारी मात्र हौं, पोलिक्लिनिक मालिकले गर्नु भनेपछि गनै पर्यो तर यहाँ दैनिक कुकुरको उपचार हुन्छ” भन्ने प्रतिक्रिया दिएका छन्।
धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले मानिस उपचार हुने स्थानमा पशुपन्छीको उपचार गर्न नपाइने स्पष्ट पारेका छन्।
उनले भने, “मानिस उपचार हुने स्थानमा पशुपन्छीको उपचार गर्न पाइँदैन, त्यो स्वास्थ्य ऐन विपरीत हुन्छ। यस्तो गतिविधि भेटिए तुरुन्त कारबाही गर्छौं। भेटनरीको लाइसेन्स प्राप्त संस्थाले मात्र पशुपन्छीको उपचार गर्न पाउँछ। यस विषयमा अनुसन्धान हुन्छ।”
मानव स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको स्वास्थ्य संस्थामा पशु उपचार गरिएको घटनाले स्वास्थ्य मापदण्ड र कानुनी व्यवस्थामाथि प्रश्न उठाएको छ।
स्थानीय स्रोतका अनुसार उक्त पोलिक्लिनिकमा रातको समयमा गैरकानुनी गर्भपतन समेत हुने गरेको
बताएका छन । उक्त पोलिक्लिनिकमा गैरकानुनी कार्य समेत हुने गरेको स्रोतले जनाएको छ ।

