
धरान: मौसम पूर्वानुमान महाशाखाको सूचनालाई मध्यनजर गर्दै धरान उपमहानगरपालिकाले सम्भावित प्राकृतिक विपद्को जोखिम न्यूनीकरणका लागि पूर्वतयारी तीव्र पारेको छ ।
शुक्रबार बिहान १० बजे कार्यवाहक नगरप्रमुख अइन्द्रविक्रम बेघाको कार्यलयमा बसेको विशेष बैठकले विपद् व्यवस्थापनका लागि विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको हो ।
बैठकले विपद्को समयमा तत्काल परिचालन हुन सक्ने गरी तयारी गर्ने निर्णय गरेको छ । बैठकले आपत्कालीन अवस्थामा प्रयोग हुने उद्धारका सामग्रीहरूलाई तयारी अवस्थामा राख्ने, नागरिकले विपद्को समयमा तत्काल सहयोग माग्न सक्ने गरी अत्यावश्यक मोबाइल नम्बरहरू छिट्टै सार्वजनिक गर्ने, विभिन्न निकायहरूसँग समन्वय गरी जनशक्तिलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।
विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन आयोजित उक्त बैठकमा नगरका विभिन्न सुरक्षा तथा सामाजिक निकायहरूको उपस्थिति थियो । बैठकमा नगरपालिकाको पूर्व विपद् तयारी समिति, इलाका प्रहरी कार्यालय धरान, इलाका प्रशासन कार्यालय धरान, नेपाल रेडक्रस सोसाइटी, धरान उद्योग वाणिज्य संघ तथा नगर प्रहरीका प्रतिनिधिहरूको सहभागिता थियो।
बैठकले मौसमको प्रतिकूलताबाट हुन सक्ने क्षति कम गर्न सबै निकायले आ-आफ्नो क्षेत्रबाट सक्रिय भूमिका खेल्ने प्रतिबद्धता समेत जनाएको छ ।

