
धरान : ‘शिक्षाका लागि दौड’ भन्ने नारासहित धरानमा आयोजना हुने गोफी धरान १० के रन (नेवाः च्यारिटी) को १४औँ संस्करणको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। प्रतियोगिता फागुन ९ गते शनिबार सम्पन्न हुनेछ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा धरान रन समूहका अध्यक्ष हेमन सुनुवारले यस संस्करणमा पहिलोपटक सहभागी सम्पूर्ण धावक–धाविकालाई १ लाखसम्मको एकदिने स्वास्थ्य बीमा प्रदान गरिएको जानकारी दिए।
प्रतियोगितामा ३,२०० देखि ३,५०० जनासम्म धावक–धाविकाको सहभागिता रहने अपेक्षा गरिएको छ।
युके रनका धावक–धाविकासहित करिब २५ जना विदेशी धावक–धाविका सहभागी हुनेछन् भने फागुन ९ गते नै भर्चुअल रनमा करिब ३०० जनाले सहभागिता जनाउने भएका छन्।
प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा गोफि क्लोदिङ ब्राण्ड रहेको छ। आयोजकका अनुसार कार्यक्रमले खेल पर्यटन प्रवर्द्धनमा ठूलो योगदान पुर्याउने विश्वास लिइएको छ।
१४औँ संस्करण अन्तर्गत खुल्ला वर्ग, विभिन्न उमेर समूह, भेट्रान, सुपर भेट्रान, व्हिलचेयर तथा स्थानीय धावक–धाविकाका लागि प्रतिस्पर्धात्मक दौड र आकर्षक पुरस्कार व्यवस्था गरिएको छ।
वडाध्यक्ष रनिङ दौड प्रतियोगितामा धरानका विभिन्न वडाध्यक्षहरूको सहभागिता रहनेछ भने प्रथमलाई शिल्ड पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा दौडको ठिक समय मापनका लागि ‘चिप टाइमिङ सिस्टम’ प्रयोग गरिनेछ। धरान रन समूहले नेपालमै ११औँ संस्करणदेखि चिप प्रणाली प्रयोग गर्दै आएको छ।
वडाध्यक्ष रनिङ दौड प्रतियोगिता:
वडा अध्यक्ष रनिङ प्रतियोगितामा ५ जना वडा अध्यक्षहरुले सहभागीता जनाउने भएका छ्न ।
वडा अध्यक्ष दौडमा धरान १० का बिबेक राई,१८का वडा अध्यक्ष प्रबिण राई, १६का वडा अध्यक्ष मुरारी भट्टराई ,४ वडा अध्यक्ष धन बहादुर राई रहेका छ्न
वडा अध्यक्ष रनिङ दौड प्रतियोगिता प्रथमलाई शील्ड पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार प्रतियोगिताले शिक्षा, स्वास्थ्य र खेल पर्यटनलाई एकैसाथ प्रवर्द्धन गर्दै धरानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद नक्सामा अझ मजबुत रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ।
१० किलोमिटर दौडको रुट पुतली लाइनबाट सुरु भएर देशी लाइन, पुरानो बजार, पिण्डेश्वर मन्दिर, विजयपुर चौक, हात्तीसार क्याम्पस, रेडक्रस भवन, अमरहाट कभर्ड हल, जिरो प्वाइन्ट, जानकी चोक, धरान रङ्गशाला, गणेशमान चौक, पानी टङ्की, कल्याण चौक, मङ्गलवारे, रत्न चोक, बुद्घ चोक हुँदै पुनः भानुचौकमा समापन हुनेछ ।
प्रतियोगितामा १६ वर्ष माथिका ३९ वर्ष सम्मका विजेताले जनही नगद ६० हजार, दोस्रोले ४० हजार र तेस्रोले ३० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । १२ देखि १५ वर्ष भित्रका ‘यु–१५’ समूह, ४९ देखि ५९ वर्ष सम्मको ‘मिड भेट्रान’ समूहका, सुपर भेट्रान महिला पुरुष विजेताले जनही नगद ७ हजार, ५ हजार, ३ हजार, मेडल र प्रमाणपत्र पाउने छ ।
४० देखि ४९ वर्ष सम्मको ‘भेट्रान’ समूहका महिला पुरुष विजेताले जनही नगद १० हजार, ७ हजार, ५ हजार, मेडल र प्रमाणपत्र पाउने छ । ६० वर्ष माथिका ‘सुपर भेट्रान’ समूहका महिला पुरुष विजेताले नगद ५ हजार, मेडल र प्रमाणपत्र पाउने छन् ।
प्रतियोगीताका १३औँ संस्करणमा ४ हजार धावक, धाविकाहरू सहभागी थिए । धरान रन समूह २०६७ मा स्थापना भई २०६८ सालमा दर्ता भएको हो । रनले हरेक शनिवार यलम्वर पार्कमामा ३ कि.मि. दौड गराउँदै आएको छ ।


