
धरान: बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २६ औं संस्करणको फाइनलमा प्लानिङ ब्वाइज युनाइटेडले साबिक उपबिजेता चर्च ब्वाइज युनाइटेड विरुद्ध शनिबार प्रतिस्पर्धा गर्ने भएको छ ।
धरान–१६ स्थित धरान रंगशालामा हुने प्रतिस्पर्धात्मक खेलमा दुवै टिमको दाबी छ । शुक्रबार भएको प्रिम्याच कन्फ्रेन्समा दुवै टिमका कप्तान र प्रशिक्षकले उपाधि जित्ने दाबी गरका हुन ।

दुवै कप्तान र प्रशिक्षकले एक अर्कामा परिचित टिम भएकाले एकले अर्कोलाई कमजोर नआँक्ने बताए । एन्फाले प्रतियोगिता जुधाएकै कारण दुबै टिमका खेलाडी केही खेलाडीको धरान–पोखरा–बिर्तामोड दौडधुपको कारण उत्कृष्ट प्रदर्शनमा केही कमी आउने दुबै टिमका प्रशिक्षक तथा खेलाडी स्वीकार छन ।
एउटै क्लबबाट दुई वटा टिम बनाएर झापा र बुढासुब्बा गोल्डकपमा सहभागी चर्च ब्वाइज झापाबाट बाहिरिसकेकाले उसको ध्यान बुढासुब्बा गोल्डकपको उपाधी जित्नमा रहेको प्रशिक्षक सुमन श्रेष्ठले बताए । गत बर्षको उपबिजेता समेत रहेकाले उच्च मनोबलका साथ प्रतिष्पर्धा गर्ने कप्तान मिलन राईको भनाई छ ।
उता डिफिन्डिङ च्याम्पियन क्लब एनआरटीलाई पहिलो खेलमै पराजित गरेकाले आफूहरुको मनोबल उच्च रहेको प्लानिङ ब्याइजका प्रशिक्षक संञ्जित सिंहले बताए । केही खेलाडीहरु चोटका कारण समस्या रहेपनि रणनीतिक तरिकाले खेलेर फाइनल जित्ने कप्तान फागुराम थारुले बताए ।
जारी गोल्डकपको पहिलो सेमीफाइनलमा प्लानिङ ब्वाइजले पोखराको लालीगुराँस एसोसिएसनलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित बनाएको हो । अन्तिम सेमीफाइनलमा झापा ११ फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज उपाधी नजिक पुगेको हो । फाइनल खेलको बिजेताले नगद १० लाख र उपबिजेताले ५ लाख हात पार्नेछन ।
सर्वोत्कृष्ट खेलाडीलाई होन्डाको स्कुटर प्रदान गरिनेछ । उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार रुपैया तथा सर्वाधिक गोलकर्ताले नगद ३५ हजार रुपैया पुरस्कार पाउने आयोजकले जनाएको छ ।

