व्यवसाय

जुत्ता चप्पल मेलाले धरानको व्यापारिक साख फर्काउने विश्वास

धरान: धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अईन्द्र विक्रम बेघाले राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।आयातमा आधारित अर्थतन्त्रलाई विस्थापित गर्दै आत्मनिर्भर बन्नु आजको आवश्यकता भएको उनले बताए ।
शनिबार धरान जुत्ता चप्पल मेलाको उद्धघाटन गर्दै बेघाले नेपाली जुत्ता–चप्पललाई स्वदेशमै सीमित नराखी जापान, अमेरिका जस्ता अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात गर्ने लक्ष्य राख्नुपर्ने बताए ।
उनले धरानका नागरिकहरूलाई स्वदेशी उत्पादन प्रयोग गर्न आग्रह गर्दै गुणस्तरीय उत्पादन भए त्यसको प्रचार–प्रसारमा स्थानीय संघ–संस्था र समुदाय सक्रिय हुनुपर्ने बताए ।
कार्यक्रममा बरिष्ठ पत्रकार हर्ष सुब्बाले जुत्ता मेलाले धरानका उपभोक्ताहरूलाई जुत्ता किन्न इटहरी वा विराटनगर जानुपर्ने बाध्यतालाई कम गर्ने विश्वास व्यक्त गरे । मेलामा नयाँ डिजाइनका जुत्ता, आकर्षक प्याकेज तथा विशेष छुटको व्यवस्था गरिएको उनले जानकारी दिए ।
सुब्बाका अनुसार उपभोक्ताहरू वर्षमा एकपटक लाग्ने यस्ता मेलाको पर्खाइमा रहने र अर्को वर्षसम्म टिक्ने जुत्ता–चप्पल यहीँबाट खरिद गर्ने प्रवृत्ति रहेको छ । उनले भने, ‘जुत्ता मेला धरानको आर्थिक पुनरुत्थानका लागि महत्वपूर्ण छ । यसले उद्योग तथा व्यापार व्यवसायमा नयाँ उत्साह थप्नुका साथै धरानले गुमाउँदै गएको पुरानो व्यापारिक साख प्रतिष्ठा पुनः फर्काउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।’
उनले सञ्चारकर्मीहरूलाई यसलाई सामान्य मेला मात्र नभई धरानको आर्थिक विकासको एक महत्वपूर्ण पाटोका रूपमा प्राथमिकताका साथ कभर गर्न आग्रह गरे ।
नेपाल जुत्ता–चप्पल उत्पादक संघका निर्वतमान अध्यक्ष होमनाथ उपाध्यायले नेपालमा वार्षिक १५ करोड जोर जुत्ता उत्पादन गर्ने क्षमता रहेको बताउँदै आन्तरिक खपत करिब १० करोड जोर मात्र रहेको जानकारी दिए । हाल ८० प्रतिशतभन्दा बढी बजार स्वदेशी उत्पादनले ओगटेको उनले बताए ।
उपभोक्तालाई सस्तो र गुणस्तरीय जुत्ता उपलब्ध गराउन बिचौलिया हटाई सिधै उद्योगबाट उपभोक्तासम्म पुग्ने गरी ‘साझा बिक्री केन्द्र’ खोल्ने योजना रहेको उपाध्यायले बताए । यस क्षेत्रमा दक्ष जनशक्तिको अभाव रहेको उल्लेख गर्दै उनले धरान उपमहानगरपालिकालाई तालिम केन्द्र सञ्चालन गर्न आग्रह गरे । उनका अनुसार जुत्ता उद्योगमा कार्यरत व्यक्तिले मासिक ३५ हजारदेखि १ लाख रुपैयाँसम्म आम्दानी गर्न सक्ने सम्भावना छ ।

हाल जुत्ता उद्योगमा ३५ प्रतिशत मात्र स्वदेशी कच्चा पदार्थ प्रयोग भइरहेकोमा आगामी दिनमा यसलाई ७० प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको उनले बताए ।

प्रदर्शनीको मुख्य उद्देश्य ‘स्वदेशी उत्पादनको प्रयोग गरौँ, आत्मनिर्भर बनौँ’ भन्ने सन्देश प्रवाह गर्नु रहेको आयोजकले जनाएका छन् । मेलाले नेपाली उद्योगीलाई प्रोत्साहन गर्ने र उपभोक्तालाई सहुलियत दरमा गुणस्तरीय स्वदेशी उत्पादन उपलब्ध गराउने लक्ष्य लिएको छ ।
धरान १२ छाताचोक आयोजित जुत्ता चप्पल मेलामा फस्ट वाल्क, बीएफ डियर हिल सुज, क्रस रोड, रोयल सुज र डिजे सुजका विभिन्न मोडेलका जुत्ताहरु रहेका छन ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले, निवर्तमान अध्यक्ष जनकऋषि राईलगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

छुटाउनुभयो कि ?

व्यवसाय

फेरि फेरि लुगा लगाउनका लागि फेसनएबल धरानमा सुरु भयो “फेरिका”

फेरीकाको अर्थ भन्दा पनि सबैले यहाँ बाट लुगा खरिद गरेर फेरि फेरि लुगा लाउनु पर्छ भन्ने उद्वेश्यले फेरिका नाम राखेको
व्यवसाय

यूएईमा नेपालीले चलाएको प्रसिद्ध ब्रान्ड ‘राफ्फे’ नेपाल भित्रिदै

काठमाडौं : यूएईको प्रसिद्ध मोबाइल एसेसरिज ब्रान्ड राफ्फेले नेपालमा पनि शाखा बिस्तार गर्दैछ। अहिले नेपालको बजार सर्वे गरिरहेको कम्पनीले दुई