
धरान: धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अईन्द्र विक्रम बेघाले कोशी प्रदेश सरकारको पूर्ण अनुदानमा निर्माण भएका तीनवटा डिप बोरिङ सञ्चालनका लागि अनुमति दिएका छन्।
बुधबार कावा प्रमुख अईन्द्र विक्रम बेघाले तीनवटा डिप बोरिङ सञ्चालनका स्वीकार गरेका हुन । बेघाले भने ‘तीनमध्ये एउटा डिप तत्काल सञ्चालन योग्य छ भने बाँकी दुईवटाका लागि बुस्टर पम्प जडान गर्न करिब १५ दिन लाग्नेछ।’ त्यसपछि करिब २० दिनभित्र पानी घर–घरमा वितरण हुनेछ । डिपबोरिङबाट दैनिक ६० लाख पानी उत्पादन हुने लक्ष्य रहेता पनि हाल सुख्खायाममा ४० देखि ५) लाख पानी उत्पादन हुने प्राविधिकहरको भनाई छ ।
बेघाले वेलबाट निस्केको पानी गुणस्तरीय रहेको र पिउन योग्य रहेको दाबी गरे। उनले परियोजना सफल बनाउन पूर्व मन्त्री, प्रदेशका सांसद र स्थानीय सरोकारवालाहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै धन्यवाद व्यक्त गरे।
बेघाले थपे, “खानेपानीको विषयमा कुनै पनि गडबडी सह्य हुनेछैन र हामी इमानदार भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्छौं। विगतका प्राविधिक र व्यक्तिगत उल्झनहरूलाई त्यागेर जनताको तिर्खा मेटाउन अहोरात्र खटिनेछौं।” बेघाले १७ नम्बर वडाको कुम्भीयाल चोकमा रहेको डिप बोरिङ तत्काल सञ्चालन योग्य रहेको र दुई बोरिङमा बुस्टर पम्प जडान बाँकी रहेको बताए ।
कोशी प्रदेश सांसद रमेश बस्नेतले भने, “तत्कालीन राहतस्वरूप थप बोरिङ निर्माण गरेर जनतालाई तत्कालको अभाव टार्ने लक्ष्य सहित डिपबोरिङ परियोजना सुरु गरेका हौं । बस्नेतले भने ‘दीर्घकालीन योजनाका लागि सप्तकोशी वा अरुण नदीबाट पानी ल्याउने मेगा प्रोजेक्टका लागि आवश्यक पहल भइरहेको छ। धरानको पानी समस्या चाँडै नै दीर्घकालीन रूपमा समाधान हुनेछ, तर यस विषयमा राजनीति गर्नु हुँदैन।”
प्रदेश सरकारले आर्थिक वर्ष २०८र८१ मा ३ वटा डिप बोरिङ निर्माणका लागि ४ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। ठेक्कामार्फत १ करोड ५१ लाख ४५ हजार ९०९ रुपैयाँमा निर्माण सम्पन्न गरिएको थियो।
गत साउन २८ गते स्थलगत अनुगमनमा सांसद रमेश बस्नेत, विजयकुमार राई, मेयर हर्कराज राई, उपमेयर अईन्द्र बिक्रम बेघा, खानेपानी बोर्ड अध्यक्ष राजु पोखरेल र मन्त्रालयका सचिव प्रदीप वान्तवाले सहभागी भएका थिए।
प्रदेश सरकारको लगानीमा बनेका तीनवटा डिप बोरिङबाट दैनिक ४०–६० लाख लिटर पानी उत्पादन हुने अपेक्षा गरिएको छ। उत्पादन भएको पानी मूल पाइपलाइनमार्फत धराने नागरिकको घर–घरमा पुर्याइने लक्ष्य राखिएको थियो।
सरोकारवालाहरूका अनुसार धरानको दीर्घकालीन खानेपानी समाधानका लागि थप बोरिङ र सप्तकोशी वा अरुण नदीबाट पानी ल्याउने मेगा परियोजना आवश्यक रहेको छ।

