
धरान: ब्रिटिश आर्मीमा कार्यरत देउकुमार र क्याप्टेन दिपेन्द्र राई दाजुभाईले धरानमा पहिलो पटक नगद पुरस्कारसहित एमेच्योर गल्फ प्रतियोगिता गरेका छन । दाजुभाईद्धयले प्रतियोगितालाई आगामी पाँच वर्षसम्म निरन्तरता दिने प्रतिबद्धता जनाउदै देशका लागि सक्षम गल्फ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
क्याप्टेन दिपेन्द्रले ‘देशका लागि केही गरौं भन्ने सोचले लगानी गरेका हौं ।,’ उनले भने, ‘गल्फ खेलाडीले यही खेलबाट आम्दानी गर्न सकून् भन्ने चाहना हो। पेशाले मात्र होइन, गल्फ खेलप्रतिको मोहले पनि उनीहरुलाई धरान–१८ स्थित धरान गल्फ क्लबमा जोडेको छ ।
यही लगावले चार दिनअघि दाजुभाईले ३ लाख रुपैयाँ लगानी गर्दै एमेच्योर ओपन गल्फ प्रतियोगिता आयोजना गरेका हुन । एमेच्योर गल्फ प्रतियोगितामा पहिलोपटक नगद पुरस्कार वितरण भएकाले प्रतियोगिता ऐतिहासिक बनेको गलफ क्लव संघका केन्द्रिय उपाध्यक्ष तथा धरानका पूर्वनगरप्रमुख तिलक राईले बताए । उनले भने ‘गल्फ संघले गर्न नसकेको कार्यक्रम दाजुभाईले गरे ।’नेपालमा एमेच्योर गल्फ प्रतियोगितामा नगद पुरस्कार वितरण गरिएको यो नै पहिलो हो । ’‘हामी गल्फ संघले बजेट अभावका कारण गर्न नसकेको काम उहाँहरुले गर्नुभयो,’ उनले भने, ‘यो खेल र देशप्रतिको भावना हो । यसले अन्य लाहुरेहरुलाई पनि प्रेरणा दिनेछ ।’
दाजुभाईले उपलब्ध गराएको ३ लाख रुपैयाँमध्ये १ लाख रुपैयाँ धरान गल्फ क्लबको कोर्स मर्मतसम्भार र व्यवस्थापनमा खर्च गरिएको थियो भने २ लाख रुपैयाँ नगद पुरस्कारमा विनियोजन गरिएको थियो । नगद पुरस्कार र ओपन प्रतियोगिता भएकै कारण नेपालका नम्बर वान एमेच्योर राहुल बिक सहित देशभरका सिंगल ह्याण्डीक्याप भएका ३८ जना एमेच्योर खेलाडी सहभागी भएका थिए ।
दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा राहुल बिक च्याम्पियन बन्दै ५० हजार रुपैयाँ नगद र ट्रफी जिते । दोस्रो स्थानमा प्रकृत तामाङ र तेस्रो स्थानमा धरानका सुन्दर राई रहे । उनीहरुले क्रमश २५ हजार २० हजार गर्दै प्रतियोगितामा दशौं स्थानसम्मका खेलाडीलाई १० हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।
आगामी वर्षदेखि नगद पुरस्कार बढाएर प्रथम हुने खेलाडीलाई ८० हजार रुपैयाँ दिने प्रायोजक क्याप्टेन दिपेन्द्र राईले जानकारी दिए ।
‘एमेच्योर खेलाडीले नगद नपाउँदा छिट्टै प्रो टर्न हुन हतारिन्छन्,’ उनले भने, ‘एमेच्योरमै आम्दानीको अवसर पाए खेलाडीको क्षमता अझ निखारिन्छ ।’

