
धरान: २६ औं अन्तराष्ट्रिय बुढासुब्बा गोल्डकप फुटबल यसपालि माघ २२ देखी फागुन २ गते सम्म आयोजना गरिने भएको छ । यसपालि हुने प्रतियोगिता गोल्डकपको २६औँ संस्करण हो ।
बिहिबार पत्रकार सम्मेलनमा आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले गोल्डकपको तयारी तीव्र रूपमा भइरहेको बताए । २६औँ बुढासुब्बा गोल्डकपमा सहभागी टिमको संख्या १० बढाइएको छ। आयोजकले विगतका अनुभवका आधारमा आगामी संस्करणमा सहभागी टिमको संख्या १२ सम्म पुर्याउने लक्ष्य लिएको बताएका छन्।
अध्यक्ष तामाङले भने ‘कोषको मुख्य उद्देश्य क्लबलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनु हो।’धरान मञ्चका अध्यक्ष तथा अक्षय कोष परिकल्पनाकार प्रेम सुब्बाले क्लबको दीर्घकालीन आर्थिक स्थायित्वका लागि अक्षय कोष स्थापनाको प्रकृया अगाडी बढेको बताए।
अध्यक्ष तामाङले क्लबको आर्थिक पारदर्शितालाई प्राथमिकतामा राख्दै विगतका सबै आम्दानी–खर्च र कारोबार स्पष्ट (क्लियर)पारेर क्लबलाई सही आर्थिक ट्र्याकमा लैजाने प्रतिबद्धता जनाए।
भविष्यको योजना अन्तर्गत विभिन्न स्रोतबाट संकलन हुने रकममार्फत अक्षय कोषको औपचारिक घोषणा गरिने र त्यसपछि मात्र सहयोगी संघ–संस्थासँग सहकार्यको रणनीति अघि बढाइने बताए ।
प्रतियोगिताकाको विजेताले १० लाख उपबिजेताले ५ लाख नगद पुरस्कार धरान उपमहानगरपालिकाले प्रयोजन गर्ने भएको छ ।
प्रतियोगिताको संयोजन धरान उपमहानगरपालिका, मुख्य प्रायोजक गोर्खा ब्रुअरी प्रालि (गोर्खा बियर), मुख्य सहप्रयोजक टेस्टी टेस्टी चाउचाउ (क्वालिटी नुडलस ईण्डष्ट्रिज प्रालि), सहप्रयोजक रेडबुल, गुरुङ बिबिक्यू धरान, सिंगापुर बेभेरेज नेपाल (निम्बु पानी), अफिसियल स्पोर्टवेयर केल्मी नेपाल, हस्पीटालिटी पार्टनर होटल मेरिकेन धरान रहेका छन् ।
यसपालि तर्जुमा गरिएको बजेटमा धरान उपमहानगरपालिका १५ लाख, कोशी प्रदेश खेलकुद विकास बोर्ड १५ लाख, मुख्य प्रायोजक गोर्खा ब्रुअरी प्रालि १० लाख, सह प्रयोजक रेडबुल ५ लाख, अनय प्रायोजक ५ लाख, बिदेशी संघसंस्थाहरुको सहयोग २५ लाख, टिकट विक्री १५ लाख, स्थानीय सरकारी, गैरसरकारी संघ संस्था एवं व्यक्तिहरुबाट सहयोग १० लाख, देव मोर्टस ३ लाख ५० हजार, सुनसरी टेक्नीकल २ लाख, सुनसरी उद्योग वाणिज्य संघ १ लाख, क्याटिन बिक्री ५० हजार आय हुने अनुमान गरिएको छ ।
यसैगरी बिशेष सहयोगी अरुण राई पोर्चुगल, १ नम्बर प्रदेश सरकार, राष्ट्रिय देलकुद परिषद धरान युके हेल्पिङ हेण्ड्स, हङकङ नेपाली महासङ्घ, धरान–८ समाज हङकङ, धरान–१७ समाज हङकङ, धरान युथ एशोसिएशन हङकङ, धरान हेल्पिङ हेण्ड्स युएई, धरान बहराईन एकता समाज, अस्ट्रेलिया, पोर्चुगल, जापान, दुबई, कोरिया, अमेरिका, मकाउ लगायतका नेपालीहरूबाट सहयोग प्राप्त हुने बताइएको छ ।
पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा कुल अनुमानित आय १ करोड ७ लाख रुपैयाँ छ । कुल खर्च ८७ लाख, १५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
२६औँ बुढासुब्बामा सहभागी टिमहरूमा एनआरटी काठमाडौँ, लिग च्याम्पियन चर्च ब्वाईज क्लव काठमाडौं, नेपाल पुलिस क्लव काठमाडौं, रोयल थिम्फु क्लव भुटान , जर्जियन क्लव भारत, एलए क्लव पोखरा, सातदोबाटो युथ क्लव ललितपुर, प्लानिङ ब्वाईज क्लव काठमाडौं, झापा ११ झापा, धरान फुटबल क्लव धरान रहेका छन् ।
२५ औँ गोल्डकपको विजेता एनआरटी क्लव काठमाडौँ, उपविजेता चर्ज ब्याईज क्लव काठमाडौं रहेको थियो ।
गोल्डकप विजेतालाई नगद १० लाख रुपैयाँ र उपविजेताले नगद ५ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ । उत्कृष्ट खेलाडी नगद ३ लाख ५० हजार (डियो स्कुटर) र प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिने छ ।
उत्कृष्ट गोल रक्षक २५ हजार, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मीड फिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार पुरस्कार राखिएको छ । सर्वाधिक गोलकर्तालाई नगद ३५ हजार प्रदान गरिने छ । उक्त अवसरमा धरान समाज युकेका उपाध्यक्ष चन्द्रकला थेवे लिम्बुले शुभकामना प्रकट गरे ।

