
धरान: राष्ट्रिय परिवर्तन पार्टीले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सुनसरी क्षेत्र नम्बर–१ बाट ईन्द्र हाङ किराँतीलाई उम्मेदवार घोषणा गरेको छ।
बिहीबार धरानमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा किराँतीले आफ्नो पार्टीले दुई तिहाइ मत ल्याउने दाबी गर्दै त्यसपछि स्थिर सरकार निर्माण गरी जेनजी आन्दोलनका घाइते र सहिदको सपना साकार पार्ने बताएका छन्।
उनले भने, “दुई तिहाइको जनमत प्राप्त भएपछि मात्र देशमा स्थायित्व सम्भव हुन्छ।”स्थायित्व प्राप्त भएपछि प्रत्यक्ष राष्ट्रपति निर्वाचनको एजेन्डामा जोड दिन्छौं ।
किराँतीले प्रत्यक्ष राष्ट्रपति निर्वाचन प्रणाली आवश्यक रहेको बताउँदै यसले सरकारलाई स्थिर बनाउने र विकास तथा सुशासनको आधार तयार गर्ने दाबी गरे।
उनको चुनावी एजेन्डाको मुख्य आधार सुशासन र भ्रष्टाचारको अन्त्य रहेको छ। उनले सेलिब्रेटी र व्यक्तिवादी राजनीतिबाट टाढा रहेर पार्टी–संचालित जनमुखी राजनीति आवश्यक रहेको बताए।
किराँतीले पार्टीको प्राथमिकता जनताको जीविकोपार्जन रहेको उल्लेख गर्दै खाद्य सुरक्षा र आर्थिक सहयोगलाई जोड्ने, स्थिर सरकार बिना जनताको दैनिकी समस्या समाधान असम्भव हुने बताए। उनले राजनीतिक आन्दोलनमा बलिदान दिनेहरूप्रति विशेष कार्यक्रम ल्याइने जानकारी दिए। उनले आन्दोलनका ७६ जना सहिदका परिवारको व्यवस्थापन गर्दे घाइते तथा अपाङ्गता भएकाहरूका लागि सीपमूलक तालिम, रोजगारी र राज्यबाट तलब–भत्ता सुनिश्चित गरिने उनको भनाइ छ।
आफ्नो उम्मेदवारीलाई जेनजी आन्दोलनको निरन्तरता भन्दै किराँतीले पुराना शक्ति संरचनाको विकल्पका रूपमा आफ्नो पार्टी अगाडि आएको दाबी गरे।उनले भने,“आन्दोलनको आँसु, रगत र बलिदानबाट जन्मिएको राजनीतिक चेतनाको संस्थागत रूप हाम्रो पार्टी हो। अब युवाको आवाज सडकमा मात्र होइन, राज्यसत्ताभित्र पुग्नुपर्छ।”

