धरान विशेष

धरान स्थापनाको १२५ वर्ष पूरा : झाँकीसहित र्‍याली


धरान: घना जंगल फाँडेर बसोबास सुरु गरिएको धरानले १२५ वर्ष पूरा गरेको छ । विजयपुर क्षेत्रबाहेक हालको धरान क्षेत्र राणाकालमा जंगल फँडानी गरी विभिन्न स्थानबाट आएका मानिसहरूले घर–टहरा बनाउँदै बसोबास थालेपछि विस्तार हुँदै गएको ऐतिहासिक तथ्य रहेको छ । सोही क्रममा जुद्धनगर र चन्द्रनगर बजारको विकास भएको इतिहास पाइन्छ ।
धरानमा मानव बसोबास सुरु भएको अवसरमा ‘१२५ औँ धरान उत्सव’ आइतबार मनाइएको छ । शिक्षा, स्वास्थ्य, पर्यटन तथा व्यापारिक पूर्वाधारसहित बहुसांस्कृतिक आवासीय समृद्ध सहर भन्ने नाराका साथ यस वर्ष पनि धरान स्थापना दिवस अर्थात् धरान डे विविध कार्यक्रमसहित मनाइएको हो ।
धरानका विभिन्न जातीय संस्था, सङ्घ–संस्था तथा सम्पूर्ण विद्यालयहरूको सहभागितामा सांस्कृतिक झाँकीसहित र्‍याली निकालिएको थियो । पब्लिक स्कुलको खेल मैदानबाट सुरु भएको र्‍याली छाता चोक, सिंहदेवी चोक पुरानो बजार, भानुचोक, पुतलीलाईन, गौतमपथ हुँदै पुनः पब्लिक स्कुलमै पुगेर सभामा परिणत भएको थियो ।
उत्सवको उद्घाटन समाजसेवी सरला कायस्थले गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै धरान उपमहानगरपालिकाका उपप्रमुख आइन्द्रविक्रम बेघाले धरान २०१७ सालमा विधिवत् नगरपालिका घोषणा भएको स्मरण गर्दै संस्कार, संस्कृति र कलाको क्षेत्रमा धरान अगाडि रहेको बताए ।
धरान बहुजाति, बहुभाषी तथा बहुसांस्कृतिक सहर भएको उल्लेख गर्दै उपप्रमुख बेघाले विभिन्न जातजातिका झाँकीले धरानमा रहेको विविधताभित्रको एकता प्रस्ट पारेको बताए । सबै जाति र धर्मप्रति सम्मान गर्ने परम्परा नै धरानको पहिचान भएको उनको भनाइ थियो ।
धरान उपमहानगरपालिकाले हरेक वर्ष पुस २० गते धरान स्थापना दिवसको अवसरमा धरान उत्सव आयोजना गर्दै आएको छ । यस वर्ष पनि सबै वडाबाट विभिन्न सङ्घ–संस्था र विद्यालयहरूको सक्रिय सहभागिता रहेको थियो । सहभागीहरूले धरान उत्सवको ब्यानर बोकेर नगर परिक्रमा गरेका थिए ।
उद्घाटन समारोहमा धरान उपमहानगरपालिकामा सबैभन्दा बढी कर तिर्ने उत्कृष्ट करदाताका रूपमा बेनिन्द्र कटुवाल, उमेश राई, लक्ष्मी कुमारी उपाध्याय, सुनसरी टेक्निकल कलेज, प्रभु बैङ्क लिमिटेड र एनएमबी बैङ्क लिमिटेडलाई सम्मान गरिएको थियो । त्यसैगरी, पालिका गीतका सर्जक टिका आत्रेय, व्यवस्थापक राजीव हलवाई तथा सङ्गीत संयोजक विनायक राईलाई पनि विशेष सम्मान प्रदान गरिएको थियो ।
यसैक्रममा, जेनजीको नाममा गत भदौ २४ गते धरानमा भएको तोडफोड, आगजनी र लुटपाटको घटनामा संलग्न रहेको आरोप लागेका हेम सुब्बालाई धरान डे को अवसरमा सम्मान गरेपछि विवाद उत्पन्न भएको छ ।
उद्घाटन समारोहलाई प्रदेशसभा सदस्य रमेशकुमार बस्नेतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि तथा प्रदेशसभा सदस्य विजयकुमार राईलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता नगरप्रमुख हर्क साम्पाङले गरेका थिए ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।