
धरान: नेपालमा ग्रासरूट फुटबलमा सहभागी बालबालिकाको सुरक्षा, समग्र विकास र मर्यादित खेल संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले ग्रासरूट लिडरसिप वर्कसप आयोजना गरिएको छ। धरान–१७ स्थित एन्फा एकेडेमीको सभाहलमा कोशी प्रदेश फुटबल संघको आयोजनामा सम्पन्न कार्यक्रममा अभिभावक तथा संरक्षक लक्षित आचारसंहिता लागू गरिएको विषयमा समेत जानकारी गराइएको थियो।
कार्यक्रमका क्रममा अखिल नेपाल फुटबल संघ एन्फाले सन् २०१९ बाट ग्रासरूट कार्यक्रम सुरु गरेको हो। सुरु भएको पहिलो वर्षमै एफसीबाट कास्य पदक प्राप्त गर्न सफल भए पनि कोरोना महामारीका कारण कार्यक्रम बीचमै अवरुद्ध भएको थियो। छ वर्षपछि सन् २०२५ बाट पुनः सुरु गरिएको कार्यक्रमलाई थप सशक्त रूपमा अघि बढाइएको एन्फाका हेड अफ एजुकेशन कोच सञ्जिव सिंहले जानकारी दिएका छन। उहाँले ग्रासरूट कार्यक्रमलाई नेपालभर विस्तार गर्ने लक्ष्यसहित अगाडि बढाइएको बताउँदै एफसीबाट स्वर्ण पदक हासिल गर्ने उद्देश्यका साथ एन्फा अघि बढिरहेको बताएका छ्न।
वर्कसपमा कोशी प्रदेशका १४ वटै जिल्लाबाट आएका प्रशिक्षक, एन्फा ग्रासरूट कार्यक्रम अन्तर्गतका सम्बन्धित निकाय, खेलाडी तथा विभिन्न स्थानका फुटबल क्लबका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। एन्फा ग्रासरूट २०२५ को कार्यक्रम अन्तर्गत दुई महिना मात्र बाँकी रहँदा कार्यक्रमलाई थप तीव्रता दिने उद्देश्यले सुनसरीको धरानबाट लिडरसिप वर्कसपको औपचारिक उद्घाटन गरिएको हो।
एन्फाले हाल ४९ जिल्लामा ग्रासरूट कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको र आवश्यक सामग्री वितरण तथा प्रशिक्षण सम्बन्धी काम अन्तिम चरणमा पुगेको जनाएको छ। यस वर्षको ग्रासरूट लिडरसिप वर्कसप सम्पन्न गरी सन् २०२६ को तयारीमा एन्फा जुटिसकेको एन्फाका ग्रासरूट कार्यक्रम प्रमुख मणिसिंह चेम्जोङले जानकारी दिनुभयो।
लिडरसिप वर्कसपका प्रमुख अतिथि तथा अखिल नेपाल फुटबल संघ एन्फाका मानार्थ उपाध्यक्ष एवम् कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले कोच केवल प्रशिक्षक मात्र नभई एक असल लिडरसमेत हुने उल्लेख गर्नुभयो। उहाँले खेलाडीमा लिडरसिप विकास गर्दै अनुशासित र जिम्मेवार खेलाडी उत्पादन गर्न कोचको भूमिका अत्यन्तै महत्वपूर्ण हुने बताउनुभयो।
कार्यक्रमले विशेषत १२ वर्ष उमेरका खेलाडीहरूसँग व्यावसायिक दूरी कायम गर्दै मर्यादित र सुरक्षित वातावरण निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याएको सहभागीहरूले बताएका छन्। विद्यालय तहबाटै लाइसेन्स प्राप्त प्रशिक्षकमार्फत प्रशिक्षण प्रदान गरिँदै आएकोले ग्रासरूट कार्यक्रम अझ प्रभावकारी बन्दै गएको उनीहरूको भनाइ थियो।
ग्रासरूट फुटबलमार्फत बालबालिकाको शारीरिक, मानसिक र सामाजिक विकाससँगै सुरक्षित तथा सकारात्मक खेल संस्कृतिको निर्माणमा एन्फाले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको सहभागीहरूको निष्कर्ष रहेको थियो।

