
धरान: गाउँघरमै वरिपरि उम्रिएका जडिबुटीलाई सदुयोग गर्दै आत्मनिर्भर बन्नका लागि धनकुटाको चौविसे गाउँपालिकामा चारदिने सावुन बनाउने तालिम सम्पन्न भएको छ ।
घर आँगनमै पाइने तीतेपाती, गाँजा र चारकोलबाट गाउँपालिकाकै बजेटमा चारदिने तालिम सम्पन्न गरिएको हो। तालिम पश्चात सहभागीहरुका लागि आत्मनिर्भरताको आधार बनेको स्वयम तालिममा सहभागीहरुले बताएका थिए ।
पौष ५ गतेदेखि ८ गतेसम्म चलेको तालिममा महिला र पुरुष गरी १९ जना सहभागि भएका थिए । कोशी प्रदेशका अधिकांश स्थानीय तहले स्वरोजगारमूलक तालिमको बजेटबाट सीपमूलक तालिमलाई प्राथमिकतामा राखिरहेका बेला धनकुटाको चौवीसे गाउँपालिकाले गाउँमै उपलब्ध हुने जडिबुटीबाट सावुन बनाउने तालिम दिइएको गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बुले बताउनुभयो । उहाँले तालिम सफलतापूर्वक सम्पन्न भएको र तालिमबाट सिकेको ज्ञानलाई व्यवहारमा उतार्न तालिममा सहभागीलाई अनुरोध गर्नुभयो ।
उहाँले तालिममा सहभागीहरुलार्ई स्वरोजगारमा जोड्ने उद्देश्यले स्थानीय तहले लक्षित वर्गका लागि बजेट छुट्याउँदै आएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो ‘आजको बजारको माग जडिबुटीजन्य उत्पादनतर्फ बढिरहेको छ,’ यही आवश्यकतालाई ध्यानमा राख्दै स्वरोजगार लक्षित बजेटबाट जडिबुटीबाट सावुन बनाउने तालिम सञ्चालन गरिएको र तालिममबाट सिकेका कुरालाई व्यवहारमा उतार्नुहोस् ।’
वनमा सहजै उपलब्ध हुने जडिबुटीलाई व्यवसायिक उत्पादनमा जोड दिने उद्देश्यले सञ्चालन गरिएको तालिमको आयोजक चौविसे गाउँपालिका रहेको थियो भने प्रँविधिक सहयोग मनभरा रिसर्च सेन्टर प्रा.लि. रहेको थियो ।
तालिममा सहभागीहरुलाई महिला उद्यमी मनिता घिमिरेले तालिम दिनुभएका थियो भने गरिबि निवारणका लागि उधम विकास कार्यक्रम अन्तर्गत सहजकर्ता कोपिला मगरले सहजीकरण गर्नुभएको थियो । सो अवसरमा तालिममा सावुन बनाउने प्रकृया, कच्चा पदार्थको छनोट, उत्पादनको गुणस्तर, प्याकेजिङ र बजार सम्भावनाबारे व्यावहारिक ज्ञान दिइएको सहभागी महिलाहरूले बताएका थिए।
समापन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहता, जनप्रतिनिधि, कर्मचारी तथा सम्बन्धित सरोकारवालाको उपस्थिति रहेको सो कार्यक्रमको अध्यक्ष ३ नं. वडाका वडाध्यक्ष मदन तुम्साले गर्नुभएको थियो ।
चौवीसे गाउँपालिकामा भएकोे यो सानो प्रयासले सहभागीहरुको दैनिकी मात्र होइन, उनीहरु आत्मनिर्भर बन्दै आत्मनिर्भर बन्ने माध्यम बन्ने अपेक्षा समेत तालिममा सहभागी, तालिम आयोजकहरुले गरेका थिए ।

