
धरान: सुनसरी जिल्लाको कराँते खेल विकासमा दशकौँदेखि अतुलनीय योगदान पुर्याएका कराँते प्रशिक्षक मनोज शाक्यलाई सम्मान–पत्र प्रदान गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद विकास बोर्ड तथा सुनसरी जिल्ला खेलकुद विकास समितिको आयोजनामा आयोजित कार्यक्रममा शाक्यलाई स–सम्मान बिदाइ तथा कदर गरिएको हो ।
शाक्यले २०३५ सालदेखि कराँते खेलमा प्रवेश गरी २०४१ साल राजविराज, २०४२ साल वीरगञ्ज र २०४३ साल धनगढीमा सम्पन्न राष्ट्रिय कराँते प्रतियोगितामा सक्रिय सहभागिता जनाउनुभएको थियो । उहाँ राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत २०५२ सालमा करार सेवामा कराँते प्रशिक्षकका रूपमा नियुक्त भई, २०६१ भदौ १ गते स्थायी हुँदै अधिकृत तृतीय (प्राविधिक) पदमा कार्यरत रहनुभयो । लामो सेवापछि २०८२ मंसिर २८ गते उमेरको हदबाट अनिवार्य अवकाश हुनुभएको हो ।
सेवा अवधिभर शाक्यले पदीय जिम्मेवारी इमानदारिता, अनुशासन र कुशलतापूर्वक निर्वाह गर्दै सुनसरी जिल्लाको कराँते खेललाई विकास, समृद्धि र संस्थागत मजबुती प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्नुभयो । प्रशिक्षकका रूपमा उहाँले उत्पादन गरेका खेलाडी, स्थापित प्रशिक्षण पद्धति र खेलकुद संस्कृतिले जिल्लालाई राष्ट्रिय पहिचान दिलाउन सहयोग पुर्याएको आयोजकहरूले बताए ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि तथा अखिल नेपाल फुटबल संघका मानार्थ केन्द्रीय वरिष्ठ उपाध्यक्ष एवं कोशी प्रदेश फुटबल संघका अध्यक्ष राईले खेलकुद क्षेत्रमा दीर्घकालीन समर्पण गर्ने व्यक्तित्वहरू नै नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत हुने उल्लेख गर्नुभयो । उहाँले कराँतेजस्ता मार्शल आर्ट खेलले अनुशासन, आत्मसंयम र राष्ट्रप्रतिको गौरव बढाउने बताउनुभयो ।
यस्तै सुनसरी जिल्ला खेलकुद कर्मचारी संघका अध्यक्ष मनकुमार राईले सम्मानित प्रशिक्षकको योगदान अनुकरणीय रहेको उल्लेख गर्दै सेवा निवृत्त जीवन सुखमय, स्वस्थ र सक्रिय रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा अखिल नेपाल फुटबल संघ (एन्फा)का मार्ना बरिष्ठ उपाधयक्ष, कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राई, सुनसरी जिल्ला खेलकुद विकास समितिका प्रमुख विमल पोखरेल, सुनसरी जिल्ला खेलकुद कर्मचारी संघका अध्यक्ष मनकुमार राईले सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

