
धरान: धरानस्थित चुम्लुङ हिम परिसरमा यस वर्षको चासोक तङ्नाम (न्वागी पूजा) भव्य र सांस्कृतिक गरिमासहित बुधबारबाट मनाइदैछ किरात याक्थुङ चुम्लुङ, उपमहानगर कार्यसमिति धरानले परम्परा, श्रद्धा र सांस्कृतिक पहिचानलाई समेट्दै विविध कार्यक्रमसहित न्वागी पर्व मनाउन लागेको हो ।
किरात याक्थुङ चुम्लुङ धरानका अध्यक्ष तीर्थराज मादेम्बाका अनुसार चासोक तङ्नाम लिम्बू समुदायको सांस्कृतिक तथा धार्मिक पहिचानको पर्व हो, प्रकृति पुजक लिmbu जातिको उधौली याममा अन्नबाली भित्र्याएपछि प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्दै पहिलो उत्पादन देवी–देवतामा चढाउने पुरानो परम्पराले नै न्वागी पूजाको सुरुवात गरेको लिम्बू मुन्धुममा वर्णन पाइन्छ ।
ऐतिहासिक मान्यतामा आदिकालमा सावा येत्हाङले कन्दमूलमा निर्भर जीवनका बीच तागेरा निङवाफु माङसँग प्रार्थना गरेपछि अन्नबालीका बीउ प्राप्त भएको विश्वास रहेको उल्लेख छ । खेतीपाती सिकाइदिने सिबेरा एक्थुक्मा र सिबेरा याबुङ्केक्मा देवीप्रति कृतज्ञता व्यक्त गर्न सुरु गरिएको न्वागी अर्पण नै आजको चासोक पर्वको मूल भावनामा बसालिएको बताइन्छ ।
यस वर्ष चासोक तङ्नाम भव्यताका साथ मनाउन मंसिर १७ गतेदेखि २२ गतेसम्म विविध कार्यक्रम आयोजना हुनेछन् । आयोजक समिति अनुसार सरसफाइ अभियान, पूजा, तङसिङ अनुष्ठान, सांस्कृतिक प्रस्तुती, च्याब्रुङ (केलाङ) नृत्य, याक्थुङजन्य खेल प्रतियोगिता तथा विभिन्न जातजातिका सांस्कृतिक प्रस्तुतिहरू कार्यक्रमको मुख्य आकर्षण हुने छन् । हरेक साँझ ५ बजेबाट १०ः३० बजेसम्म दैनिक सांस्कृतिक प्रस्तुती सञ्चालन गरिनेछ ।
मंसिर १७ गते विजयपुर र शिरिजङ्गा चोकमा सरसफाइ अभियानसँग पर्वको शुभारम्भ गरिने भएको छ । १८ गते चासोक पूजा, सरसफाइ तथा शिरिजङ्गा सालिकमा माल्यार्पण गरिनेछ । १९ गते उद्घाटन समारोहसहित बाल कलाकारहरूको सांस्कृतिक प्रस्तुती राखिनेछ । २० गते च्याब्रुङ नृत्य, जलाङ–पालाम तथा अन्य परम्परागत प्रस्तुतीहरू प्रस्तुत गरिनेछन् ।
मंसिर २१ गते पक्लुङ लेप्पा, तोड आप्मा, लि आप्माजस्ता याक्थुङजन्य खेल प्रतियोगिताहरू हुनेछन् । अन्तिम दिन २२ गते विभिन्न जातजातिका सांस्कृतिक प्रस्तुतिसहित समापन समारोह हुनेछ, जहाँ ‘सायोँ तरेजा’ (पाहुना खाना) कार्यक्रमले सामुदायिक एकता र मैत्रीपूर्ण भावनालाई अझ मजबुत बनाउने बताइएको छ ।

