
धरान: अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले सुम्निमा पारुहाङ प्रतिष्ठान नेपालको दर्ता प्रकिया, आर्थिक श्रोत र खर्चसम्बन्धी सबै कागजात १५ दिनभित्र बुझाउन औपचारिक रूपमा निर्देशन दिएको छ। प्रतिष्ठानमार्फत रकम अपचलन तथा सरकारी ऐलानी श्रेणीका जग्गा व्यक्तिबाट खरिद गरेको आरोपसहित उजुरी दर्ता भएपछि अख्तियारले प्रारम्भिक छानबिन अघि बढाएको हो।
अख्तियारले मंसिर १४ गते आएको पत्र सार्वजनिक भएपछि धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत व्यंग्यात्मक प्रतिक्रिया जनाएका छन्। उनले लेखेका छन्— “सुम्निमा पारुहाङ प्रतिमा किन बनाको भनेर अख्तियारले सोधेछ राज्यले नबनाईदिएपछि आफैं अघि सरेर बनाउनु परेन” भन्दै अख्तियारको पत्र प्रति असन्तुष्टि प्रकट गरे।
अख्तियारले धरान उपमहानगरपालिकाका प्रमुख तथा कर्मचारीहरूको मिलेमतोमा ‘सुम्निमा पारुहाङ प्रतिष्ठान नेपाल’ दर्ता गराई नगरप्रमुख नै अध्यक्ष भएर चलाएको र सरकारी पर्ती ऐलानी जग्गा व्यक्तिबाट खरिद गरेर रकम दुरुपयोग अपचलन गरेको भनी उजुरी परेकोले सोही आधारमा छानबिन प्रक्रिया सुरु गरेको पत्र पठाएको छ ।
अख्तियारले उक्त उजुरीको छानबिनका लागि कागजातहरू उपलब्ध गराउँदा प्रतिष्ठानबाट भएको पत्राचारहरूको अनिवार्य रूपमा पत्र सङ्ख्या, दर्ता चलानी र मिति समेतको विवरण खुलाई फाइल पञ्जिका गरी पठाउन आग्रह गरेको छ ।
उजुरीमा प्रतिष्ठानमा आएको रकम कहाँबाट आयो, कसरी खर्च भयो, कसैका नाममा हस्तान्तरण भयो ? भनी सवाल उठाइएकोले अख्तियारले आर्थिक श्रोत र खर्च विधि दुवैको विस्तृत कागजात मागेको हो ।
आयोगले पत्रमा १५ दिनभित्र उपलब्ध गराउन प्रतिष्ठानको दर्ता प्रमाण–पत्र, दर्ता मिति, कुन कानुन अन्तर्गत दर्ता भएको हो, को को पदाधिकारी छन्, संस्थाको विधान र नियमावली, संस्थाको उद्देश्य, सदस्यता र संरचना, आर्थिक व्यवस्थापन कसरी गरिएको छ,निर्णय प्रक्रिया के हो ? कागजात विवरण मागेको छ ।
साथै आय–व्यय विवरण, रकमको स्रोत कसरी आयो खुलाउन, कुन शीर्षकमा खर्च भयो ? आधार कागजात के के छन् ? बैङ्क स्टेटमेन्ट, खाता कहाँ–कहाँ छ ? जम्मा कहाँ छ नाम झिकाइ कति रकम चेक ? भौचरको अभिलेख ? जग्गा खरिद ,बिक्री सम्बन्धी कागजात, सम्झौता, मालपोत दर्ता, अदालत फाइल, भौगोलिक अवस्थिति, मूल्याङ्कन प्रक्रिया सबैको कागजातहरू आयोगलाई प्राथमिक तथ्य पठाउन पत्रमा उल्लेख छ ।

