
धरान: धरानको तीव्र शहरी विकासले पुराना सांस्कृतिक पहिचान नामेट हुदै जाँदा देवीथान क्षेत्रलाई सुरक्षित गर्न स्थानीय समुदायले ठोस कदम चालेका छन् । धरान–१८ स्थित यस ऐतिहासिक थलोमा ज्येष्ठ नागरिक पार्क निर्माण गर्ने निर्णय देबिथान संरक्षण तथा व्यवस्थापन समितिको १९ औँ साधारण सभा तथा ७ औँ अधिवेशनले शुक्रवार पारित गरेसँगै यसको पुनर्जीवनको बाटो खुलेको हो ।
करिब २ कट्ठा १८ धुर क्षेत्रफललाई व्यवस्थित संरक्षरण गर्दै पार्क निर्माणका लागि धरान उपमहानगरपालिकाबाट ३४ लाख र वडा कार्यालयबाट ६ लाखसहित ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको वडा अध्यक्ष नरेन्द्र कुमार राई (प्रवीण) ले जानकारी दिनुभयो । उहाँका अनुसार पार्कले देवीथानलाई धार्मिक–सांस्कृतिक महत्वसहित सामुदायिक विश्रामस्थलको रूपमा विस्तार गर्ने लक्ष्य राखिएको छ ।
सभामा समितिका विशिष्ट सल्लाहकार तथा पूर्व समितिका पूर्व सचिव, धरानको निवर्तमान नगर प्रमुख तिलक राईले युवापुस्ता संरक्षणमा सक्रिय नहुँदा संस्था सञ्चालनमै चुनौती भएको उल्लेख गर्दै परम्परागत स्वरूपमा इतिहास जोगाउनु नयाँ पीढी पनि उत्तिकै जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो ‘पुराना पुस्ताले जोगाएको ऐतिहासिक धार्मिक स्थललाई युवा पुस्ताले पनि संरक्षणमा ध्यान दिन सकेको खण्डमा देवीथान नामेट भएर नजाने र भावी पुस्तालेपनि यसको मूल्य बुझ्छन्,।’
धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाले संस्थाको निरन्तर उन्नतिमा सामूहिक भूमिकाको आवश्यकता माथि जोड दिनुभयो । उहाँले पुराना नेतृत्वको अनुभव र युवाहरूको उत्साह जोडिन सके संस्थागत विकास थप सहयोग पुग्ने बताउनुभयो ।
देवीथान परिसरमा रहेको बहुउद्देश्यीय भवनमा हाल विभिन्न सामाजिक संस्थाका कार्यालयदेखि वडा कार्यालयसम्म सञ्चालन भइरहेकाले यहाँको गतिविधि दिनप्रतिदिन बढ्दै गएको उहाँको भनाइ थियो ।
सोही अवसरमा समितिको नयाँ नेतृत्व पनि चयन गरिएको छ । रेवतीरमण राई पुनः सर्वसम्मत अध्यक्ष बन्नुभएको छ । १३ सदस्यीय नयाँ कार्यसमितिमा उपाध्यक्ष ज्योति राई, सचिव खेमराज राई, सहसचिव सुमेश पोख्रेल, कोषाध्यक्ष टकमाया लिम्बु तथा सदस्यहरू दिवन राई, सिता राना राई, सङ्गीता राई, दुर्गा प्रसाद राई, निर्मल राई, कुविरजंग राई, सरिता गोतामे र किरण खराल रहनुभएको छ ।

