
धरान: विद्यालय स्तरबाटै फुटबल खेलको विकास गर्ने उद्देश्यसहित अखिल नेपाल फुटबल संघ एन्फाले यस वर्षदेखि ‘फिफा फुटबल फर स्कुल फेस्टिवल’ कार्यक्रम सुरु गरेको छ। फिफाको विश्वव्यापी परियोजना अन्तर्गत नेपालमा पहिलो पटक सञ्चालन हुन लागेको यस फेस्टिवलमा सुनसरीका १३ वटा विद्यालय सहभागी भएका छन्।
धरान–१७ स्थित एन्फा एकाडेमीको खेलमैदानमा एन्फाका केन्द्रीय अध्यक्ष पंकज विक्रम नेम्बाङले फेस्टिवलको उद्घाटन गर्नुभयो। विद्यालय तहमै फुटबलको अभ्यास, सिकाइ र प्रतिभा पहिचान सञ्चालन गर्ने लक्ष्यसहित कार्यक्रम अघि सारिएको एन्फाको भनाइ छ।
पहिलो वर्ष सहभागिताका लागि छनोट गरिएका विद्यालयहरूमा नेपाल प्रहरी स्कुल धरान, आदर्श मावि वराहक्षेत्र, शारदा बालिका नमुना मावि धरान, शिक्षा सदन मावि धरान, सियोन सेकेन्डरी धरान, सिद्धार्थ मेमोरियल एकेडेमी वराहक्षेत्र, मुन बिम एकेडेमी वराहक्षेत्र, भरौल मन्दिर वराहक्षेत्र, लक्ष्मी मावि इटहरी, हिमशिखर स्कुल इटहरी अन्य विद्यालय समावेश छन्।

सम्झौता भएका विद्यालयहरूले एक वर्षसम्म एन्फाबाट खेलकुद सामग्री, फुटबल प्रशिक्षण तथा आवश्यक प्राविधिक सहयोग प्राप्त गर्नेछन्। प्रशिक्षक, मैदान तथा संरचनागत पूर्वाधार भने विद्यालयले नै व्यवस्था गर्नुपर्ने जनाइएको छ। सहकार्यका विद्यालयले एक वर्षपछि पुनः सम्झौता नवीकरण गर्नुपर्ने प्रावधान राखिएको सुनसरी जिल्ला फुटबल संघका अध्यक्ष नवीन राईले जानकारी दिनुभयो।
फिफा परियोजनाअन्तर्गत नेपालमा विद्यालयस्तरको फुटबललाई सशक्त रूपमा विकास गर्ने र विद्यार्थीलाई भविष्यमा व्यवसायिक खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले कार्यक्रम अघि बढाएको एन्फा अधिकारीहरूको भनाइ छ। विद्यार्थीहरूलाई खेलकुदमार्फत अनुशासन, व्यक्तित्व विकास र नेतृत्व क्षमता अभिवृद्धि गराउन कार्यक्रम महत्वपूर्ण हुने विश्वास लिइएको छ।
उद्घाटन समारोहमा सहभागी विद्यालयका विद्यार्थीहरूले मार्च पास प्रस्तुत गरेका थिए। साथै विभिन्न जातीय संस्कृतिको झल्को दिने नृत्य प्रस्तुति समेत प्रस्तुत गरिएको थियो। एन्फाको योजना अनुसार फेस्टिवललाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइनेछ। ग्रासरुट तहदेखि फुटबलको आधार सुदृढ गर्दै व्यावसायिक खेलाडी उत्पादनमा सहयोग पुर्याउने उद्देश्यले यस कार्यक्रमलाई महत्वपूर्ण मानिएको छ।
शिक्षासँगै खेललाई पनि पुलको रूपमा जोड्दै विद्यालयमै फुटबल संस्कृति विकास गर्ने अभियानलाई यो फेस्टिवलले अझ सबल बनाउने अपेक्षा आयोजकहरूले व्यक्त गरेका छन्।

