
धरान: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभीत्र सरसफाई गर्ने सरसफाइ मजदुरहरुले आफुहरुले सरकारले निर्धारण गरेको न्युनतम ज्याला लगायत श्रम ऐनले व्यवस्था गरेको आधारभूत सेवासुविधाहरु नपाएको गुनासो गरेकाछन् । बिहिबार मजदुर नेता भीमज्वाला राई सहितको टोलीसंग छलफल गर्दै आफुहरुलाई न्यायदिलाइदिन समेत अनुरोध गरेकाछन् । नेपाल ट्रेड युनियन महासंघ जिफन्ट राष्ट्रिय कमिटी सदस्य तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष राई सहित प्रतिष्ठानभीत्र कार्यस्थल पुगेका मजदुर नेताहरुसंग सफाई मजदुर भीम लिम्बूले भने एक त राज्यले तोकेको तलब पाएकाछैनौँ त्यसमाथि तलब कहिल्यै महिना मर्नेवित्तिकै पाइदैन महिनाको १० वा १५ गते मात्रै पाइन्छ । लिम्बूले भने हामीले कसरी जीवन चलाएर काम गर्नु ।
त्यस्तै मजदुर टंकबहादुर श्रेष्ठले मैले काम गरेको चार वर्षभयो तर, सार्वजनिक विदा बाहेक कानुनले व्यवस्था गरेको केहीपनि सेवासुविधा पाएको छैन । म मात्रै होइन म जस्ता नयाँ भनिएका तर वषौँ काम गरिरहेका २१ जना भन्दा बढी मजदुरहरुको पीडा एउटै छ । श्रम ऐनमा भएका व्यवस्था र सेवा सुविधाहरु दिलाइदिन समेत जिफन्टको टोलीसंग आग्रह समेत गरेकाछन् ।
त्यस्तै रुद्र राईले आफु लगायतका मजदुरहरुलाई काममा लगाउने र ६ महिनापछि विदा गर्ने गरेको गुनोसो गरे । उनका अनुसार काममा लगाउँदा पनि रोजगार सम्झौताबिना काममा लगाइएको बताए । त्यस्तै सफाइ मजदुर मुनादेवी बस्नेतले कानुनले व्यवस्था गरे अनुसारको वार्षिक विदा समेत नपाइएको गुनासो गरेकीछन् । कतिपय साप्ताहिक विदामा समेत काममा लगाइएको भएपनि त्यस वापतको ज्याला नपाइएको गुनासो मजदुरहरुले गरेकाछन् ।
अधिंकाश मजदुरहरुले नेपाल सरकारले न्युनतम ज्याला गत साउन महिनादेखिनै १९ हजार ५ सय ५० निर्धारण गरेर राजपत्रमा जारी गरेको र कतिपय प्रतिष्ठानमा काम गर्ने मजदुरहरुले उपभोग गरिसकेको भएपनि आफुहरुले अहिलेसम्म नपाएको गुनासो मजदुर नेताहरुसंग गरेकाछन् ।
नेपाल सफाइ कर्मचारी युनियन घोपा इकाई कमिटीले आयोजना गरेको बदलिदो परिवेशमा श्रमिकहरुसंग सम्वाद् कार्यक्रम आयोजना गरिएको थियो बीपी प्रतिष्ठानको आउटडोर क्षेत्र करिव ९ हेक्टर क्षेत्रका फोहरमैला व्यवस्थापन गर्ने करिव १ सय ४० जना सफाइ मजदुरहरु अप्पुश्री इन्टरप्राइजेज प्रालि मार्फत करिव २२ वर्षदेखि काम गरिरहेका छन् ।
सरकारले न्युनतम तलब निर्धारण गरिसकेपछि व्यवस्थापकसंग समन्वय गरिसकिएको छ अब लिखित रुपमै कुरा राख्ने तयारी रहेको र जिफन्टको साथ र सहयोग चाहिएको नेपाल सफाइ कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष यामकला मगरातीले बताइन् ।
सबै श्रमिकहरुको जिज्ञासाहरुको जवाफ दिँदै कार्यक्रमका प्रमुख अतिथि रहनु भएका मजदुर नेता भीमज्वाला राईले श्रम क्षेत्रमा आपुर्तिकर्ता मार्फत काम गराउने प्रावधान रहेसम्म श्रमिकहरुमाथिको श्रमशोषण अन्त्य गर्न नसकिने बताए । राईका अनुसार श्रम ऐन २०७४ को दफा ५८ मा आपुर्तिकर्ता मार्फत काममा लगाउने व्यवस्था गरेको छ । तर, व्यवसायको मुख्य काम बाहेकमा मात्रै लगाउनु पर्ने व्यवस्था रहेको बताउँदै प्रतिष्ठानको सरसफाई मुख्य कामभीत्र पर्ने भएकाले सरसफाईमा काम गर्ने मजदुरहरुलाई प्रतिष्ठानले आफ्नो मजदुरका रुपमा काम गराउनु पर्ने बताए ।
एक प्रसंगमा राईले भने श्रम ऐनमा व्यवस्था भएका सेवासुविधाहरु श्रमिकहरुको हक अन्तर्गतका विषय भएकाले मागपत्र पेश गर्नु नपर्ने भएपनि ठेकदारहरु इमान्दार नहुँदा मजदुरहरु शोषणमा परेको राईले बताए । उनले भने श्रम ऐनको दफा ४० देखि दफा ४८ सम्म श्रमिकहरुले पाउने विदा लगायतको सुविधाहरु रहेकाले त्यसलाई कार्यान्वयन गर्न व्वस्थापक तयार नभए श्रमिकहरु कानुनी उपचारका लागि एक हुनुपर्ने सुझाए ।
नेता राईले भने ठेकेदार कम्पनीले श्रमिकहरुको सेवा सुविधा दिएनदिएको निगरानी गर्नुपर्ने श्रम ऐनमा व्यवस्था भएकाले प्रतिष्ठानसंग र आवश्यक परे ठेकेदार कम्पनीलाई समेत एकैठाउँमा राखेर सम्वाद गरेर श्रमिकहरुको समस्याको सामाधान गरिने राईले बताए ।
जेनजी घटनापछि श्रम बजार र श्रमिकहरुको जीवनमा परेको असर बारे देशभरीका सबै प्रतिष्ठानसम्म पुगेर श्रमिकहरुसंग प्रत्यक्ष सम्वाद् गर्ने अभियान जिफन्टले चलाइरहेको छ । सोही कार्यक्रम अनुसार जिफन्ट कोशी प्रदेशले पनि बदलिएको राजनीतिक परिवेशमा श्रमिकहरुसंग सम्वाद अभियानको शुभारम्भ गरेको छ ।
इकाई अध्यक्ष गणेश योङहाङको अध्यक्षतामा भएको सम्वाद् कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सदस्य लक्ष्मी बानियाँ, जिफन्ट धरानका अध्यक्ष समशेर बर्देवा, उपाध्यक्ष कमल भट्टराई, सुरक्षा श्रमिक ट्रेड युनियन नेपालका घोपा उपाध्यक्ष प्रेम कुँवर, सचिव प्रविण राई लगायत सहभागीता रहेको थियो ।

