
धरान: कोशी प्रदेशका दुई क्लबको राष्ट्रिय लिगमा खेल्ने सम्भावना बलियो बनेको छ । अखिल नेपाल फुटबल संघको आयोजनामा हेटौंडामा बुधबारदेखि सुरु हुने एन्फा प्रेसिडेन्ट लिगमा कोशी प्रदेशका गाइघाट फुटबल क्लब (उदयपुर) र देउराली युथ क्लब (धनकुटा) प्रतिस्पर्धा गर्ने भएका छन् । यी दुई टिमले प्रतियोगिताको अन्तिम चारमा स्थान बनाउन सफल भए राष्ट्रिय लिगमा खेल्ने अवसर पाउने छन् ।
मंगलबार धरान १७ स्थित एन्फा एकाडेमीमा आयोजित कार्यक्रमका बीच हेटौंडा प्रस्थान गर्न लागेका दुबै टिमलाई एन्फाले शुभकामनासहित विदाई गरेको हो । कार्यक्रममा सहभागी टिमलाई जर्सी र केही आर्थिक सहयोग पनि गर्ने जानकारी दिएको छ। गाईघाट फुटबल क्लव उदयपुरलाई कोशी प्रदेश फुटबल संघले ५० थान जर्सी प्रदान गरेको छ। देउराली फुटबल क्लव धनकुटालाई आर्थिक सहयोग गर्ने जानकारी दिएको छ। केही समयअघि सम्पन्न कोशी प्रदेश लिगमा उत्कृष्ट प्रदर्शन गरेका यी क्लबहरू एन्फा प्रेसिडेन्ट लिगमा खेल्ने अवसर पाएका भाग्यशाली टोली बनेका छन् ।
एन्फाका मानार्थ उपाध्यक्ष तथा कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले दुबै टोलीलाई बधाई दिँदै हेटौंडामा हुने प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी कोशी प्रदेशको नाम उच्च राख्ने अपेक्षा व्यक्त गर्नुभयोे । उहाँले भन्नुभयोे, ‘हामीलाई विश्वास छ गाइघाट र देउरालीले मैदानमा आफ्नो खेल कौशल प्रदर्शन गर्दै राष्ट्रिय लिगसम्मको यात्रा तय गर्नेछन् ।’
त्यस अवसरमा गाइघाट फुटबल क्लबका सदस्य विवेक न्यौपानेले टोलीले पर्याप्त तयारी गरेको बताउँदै जीतको शुभकामना व्यक्त गर्नुभयो । उहाँले खेलाडीहरूले तयारी पूर्ण रुपमा तयारी गरेकाले उच्च मनोबलका साथ मैदानमा उत्रिएर प्रदेशको प्रतिनिधित्व पूरा गर्न खेलाडीहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा कोशी प्रदेश फुटबल संघका कोषाध्यक्ष तथा गाइघाट फुटबल क्लबका सदस्य आनन्ददेव चौधरी, सुनसरी जिल्ला फुटबल संघका अध्यक्ष नविन राई, उदयपुर जिल्ला फुटबल संघका कोषाध्यक्ष विवेक काफ्ले लगायतले पनि दुबै टोलीलाई सफलताको शुभकामना दिनुभएको थियो ।
हेटौंडामा हुने प्रेसिडेन्ट लिगमा कोशी प्रदेशका दुई दिनसहित देशभरका १० टिमले प्रतिस्पर्धा गर्नेछन् । देउराली र उजयपुरसँगै जनजागृति युवा क्लब (बर्दिया), काक्रेविहार युथ क्लब (सुर्खेत), नवजनजागृति क्लब (बारा), विजय स्पोट्र्स क्लब (कैलाली), चित्लाङ फुटबल क्लब (काठमाडौं), हैरान्स क्लब (तनहुँ), टाइगर्स टिम टिकाथली (दोलखा) र लालीगुराँस एशोसिएसन क्लब (कास्की) ले समेत प्रतिष्पर्धा गर्नेछन ।
गौरीटार रंगशालामा मंसिर २ गतेसम्म सञ्चालन हुने यो प्रतियोगिता लिग कम नकआउट प्रणालीमा खेलिनेछ । सेमिफाइनलमा पुग्ने चार टिमले राष्ट्रिय लिगमा सहभागिता जनाउनेछन् । प्रतियोगिताको विजेता टिमले १० लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ । साथै, सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ र विभिन्न विधागत उत्कृष्ट खेलाडीहरूलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने एन्फाले जानकारी दिएको छ ।

