
धरान: समाजमा रहेका विभिन्न कुरीति, विकृति हटाउँदै स्वस्थ, स्वच्छ र सृजनशील समाज निर्माणमा सक्रिय धरान–१६ स्थित जनपथ जागरण समाजले दोस्रो पटक धरान वडा स्तरीय महिला नकआउट रनिङ कप फुटबल प्रतियोगिता–२०८२ आयोजना गर्ने भएको छ ।
समाजसेवा र सकारात्मक सोचका साथ निरन्तर रूपमा क्रियाशील यस संस्थाले विगतमा युवाहरूमाझ लागुपदार्थ दुव्र्यसनविरुद्ध जनचेतनामूलक कार्यक्रम, जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरूका लागि सहयोग, पिछडिएका परिवारहरूलाई राहत वितरण, रक्तदानजस्ता विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थाले समाज र देशका लागि जिम्मेवार नागरिक तयार पार्ने उद्देश्यसहित स्थानीय युवाहरूलाई सामुहिक रूपमा सृजनशील कार्यमा संलग्न गराउँदै आएको छ ।
धरानलाई खेलकुदको सहरका रूपमा विकास गर्ने कोशी प्रदेश सरकारको घोषणालाई आत्मसात गर्दै जनपथ जागरण समाजले महिलामार्फत खेलकुदको विकास गर्ने लक्ष्यसहित महिला फुटबल प्रतियोगिताको आयोजना गर्दै आएको हो । संस्थाले २०८१ सालदेखि सुरु गरेको यो अभियानले स्थानीय स्तरका महिला फुटबल खेलाडीलाई प्रशिक्षण र प्रतियोगितामार्फत उन्नत स्तरमा पुर्याउने उद्देश्य लिएको छ ।
संस्थाका अध्यक्ष सुजन के.सी. का अनुसार, महिला फुटबल खेलाडीहरूको प्रतिभा प्रस्फुटन, आर्थिक आत्मनिर्भरता र राष्ट्रिय पहिचान निर्माणमा योगदान पुर्याउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो । खेलकुद केवल मनोरञ्जनको माध्यम होइन, सामाजिक एकता र सकारात्मक सोच विकास गर्ने प्रभावकारी प्लेटफर्म पनि भएको अध्यक्ष केसीले बताउनुभयो ।
यो प्रतियोगिता धरान–१६ स्थित धरान रंगशालामा आगामी मंसिर १८ गतेदेखि आयोजना हुने भएको हो । प्रतियोगिताको संयोजन धरान–१६ वडा कार्यालयले गरेको छ भने प्रतियोगितामा धरानका विभिन्न वडाका टिमहरूले प्रतिस्पर्धा गर्नेछन् ।
संयोजक बुद्ध रिजालका अनुसार, यो प्रतियोगिता स्थानीय स्तरमा मात्र सीमित नरही आगामी वर्षहरूमा जिल्ला, प्रदेश हुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विस्तार गरिनेछ । उहाँले स्थानीय प्रतिभालाई अवसर प्रदान गर्दै उनीहरूलाई ठूलो मंञ्चसम्म पुर्याउने लक्ष्य राखेको बताउनुभयो ।
प्रतियोगिताको पहिलो संस्करणले धरानका युवतीहरूमा खेलप्रतिको उत्साह बढाएको र यस वर्षको दोस्रो संस्करणले त्यसलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
प्रतियोगिता सञ्चालनका लागि अनुमानित रु ११ लाख ५५ हजार खर्च हुने जनाइएको छ । त्यसमा खेलमैदान तयारी, ट्रफी, मञ्च व्यवस्थापन, प्रचार–प्रसार, रेफ्री र खेलाडी व्यवस्थापन, साउण्ड सिस्टम, मेडिकल सेवा, यातायात र विविध शीर्षकका खर्च समावेश गरिएको छ । प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले ४५ हजार सहित ट्रफी, मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ ।
जनपथ जागरण समाजले आगामी वर्षहरूमा पनि यो प्रतियोगितालाई निरन्तरता दिने र यसमार्फत महिला खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने आधार तयार पार्ने जनाएको छ । धरानलाई खेलकुदमैत्री शहरका रूपमा अघि बढाउन यो प्रतियोगिता एक सशक्त पहलका रूपमा लिइएको छ ।
कार्यक्रममा गत बर्ष आयोजना गरिएको आयव्यय समेत प्रस्तुत गरिएको थियो । प्रतियोगितामा गत बष प्रतियोगिताका लागि विभिन्न सहयोगी संस्थाबाट १२ लाख १ हजार ४ सय ४० रुपैया संकलन भएकोमा प्रतियोगितामा ९ लाख ६८ हजार ५ सय ५९ रुपैया खर्च लागेको आयोजकले जनाएको छ । प्रतियोगिताबाट गत बर्ष २ लाख ३२ हजार ८ सय ८१ रुपैया संंस्थालाई बचत भएको समेत आयोजकले जानकारी गराएको छ ।

