व्यवसाय

वनस्पतिबाट आत्मनिर्भरता: मनिताको हातबाट जन्मिएको ‘प्राकृतिक साबुन’ उद्यमले बदल्दैछ महिलाको सोच


धरान: ठमेलको एक गल्लीमा उभिएको विदेशी पर्यटक प्राकृतिक साबुन खोज्दै थियो । सरकारी जागिरको आशामा काठमाडौं पुगेकी मनिता घिमिरेलाई त्यो दृश्य सामान्य लाग्नुपर्ने हो । तर उनको मनमा भने एउटा ‘साना सीपले पनि ठूलो बाटो खोल्न सक्छ’ भन्ने चाँडै बलियो सोच उम्रियो । यही क्षणबाट उनको जीवनले अनपेक्षित मोड लियो ।
धरान–१५ की मनिता घिमिरे अहिले केवल साबुन उत्पादक मात्रै होइनन्, उनी महिला स्वरोजगारको प्रतीक बन्दै गएकी छन् । ३० हजार रुपैयाँको सानो लगानीबाट सुरु गरेको यात्राले आज पाँच जनालाई प्रत्यक्ष रोजगारी र स्थानीय महिलालाई आत्मनिर्भर बन्ने प्रेरणा दिइरहेको छ ।
वनजंगलमा पाइने तितेपाती, निम, घिउकुमारी र गाँजाजस्ता जडिबुटी धेरैका लागि सामान्य घाँसपात मात्रै हुन् । तर मनिताले यिनै वनस्पतिलाई उत्पादन र आम्दानीको स्रोत बनाइन् ।
उनी भन्छिन्–‘जागिर खोजेर जीवनभर अरूको भर पर्नु भन्दा आफ्नै सीप प्रयोग गरेर अवसर सिर्जना गर्नुपर्छ भन्ने महसुस त्यही दिनबाट भयो । सिकेको सीप कागजमै थमाएर राख्नु हुन्न भन्ने लागेर म गाउँ फर्कें ।’
घरको कोठाबाट सुरु गरेको उद्योगले अहिले बजारसम्मको पहुँच पुगेको छ । ६ वर्षअघि सुरु गरिएको यो उद्यममा सुरुआती लगानी ३० हजार रुपैयाँ थियो । हाल उनले ४ प्रकारका प्राकृतिक नुहाउने साबुन उत्पादन गर्छिन् । उनले उत्पादन गरेको सावुन १५० देखि २१० रुपैयाँ बजारमा मारामार विक्री हुन्छ । अहिले सोचेको भन्दा धेरै अर्डर आउने उनी बताउँछिन् । उनी भन्छिन्, ‘सबैभन्दा ठूलो खुशी के भने—अब म एक्लै काम गर्दै छैन, अरूलाई पनि काम दिन सक्ने अवस्थामा छु ।
धरान–११ की संगीता बाहिङ राई भन्छिन् ‘ म यो सावुन सधै प्रयोग गर्छु छालामा कुनै असर गर्दैन, एलर्जी र साना घाउचोटमा पनि यो साबुनले ओखतीजस्तै काम गर्छ । बजारको केमिकल भएको साबुनभन्दा यसको सुगन्ध र अनुभूति नै फरक हुन्छ ।’
मनिता अहिले उत्पादनमै सीमित छैनन् । उनले उदयपुर, तेह्रथुम, धनकुटा, ओखलढुंगा र सुनसरीका ग्रामिण बस्तीसम्म पुगेर महिलालाई साबुन बनाउने व्यावहारिक तालिम दिइरहेकी छिन् ।
उनी बताउँछिन्–‘गाउँमै पाइने वनस्पति उपयोग गरेर बनाएको साबुनले विदेशबाट भित्रिने वस्तुको विकल्प दिन सक्छ । यसले पैसा मात्र होइन, आत्मसम्मान पनि दिन्छ ।’
कांग्रेस केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले मनिता घिमिरेजस्ता महिलाहरूलाई सुरुआती चरणमै प्रोत्साहन र लगानी पहुँच उपलब्ध गराए, घरभित्रै बसेर हजारौं महिलाले व्यवसाय गरेर स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन सक्ने बताइन् ।
कम लागत, सहज सीप र बजारमा बढ्दो मागले प्राकृतिक साबुन उद्योग जस्तो साना उद्यमले ग्रामीण महिलाका हातमा आत्मनिर्भरताको चाबी थमाइरहेको छ । मनिता घिमिरेको उदाहरणले देखाएको छ–‘स्वावलम्बन खोज्ने हिम्मत भए, स्रोत आफ्नै वरिपरि हुन्छ ।’

छुटाउनुभयो कि ?

व्यवसाय

फेरि फेरि लुगा लगाउनका लागि फेसनएबल धरानमा सुरु भयो “फेरिका”

फेरीकाको अर्थ भन्दा पनि सबैले यहाँ बाट लुगा खरिद गरेर फेरि फेरि लुगा लाउनु पर्छ भन्ने उद्वेश्यले फेरिका नाम राखेको
व्यवसाय

यूएईमा नेपालीले चलाएको प्रसिद्ध ब्रान्ड ‘राफ्फे’ नेपाल भित्रिदै

काठमाडौं : यूएईको प्रसिद्ध मोबाइल एसेसरिज ब्रान्ड राफ्फेले नेपालमा पनि शाखा बिस्तार गर्दैछ। अहिले नेपालको बजार सर्वे गरिरहेको कम्पनीले दुई