
धरान: आमा चन्द्र कुमारी प्रधान स्मृति प्रतिष्ठान धरानले छात्रवृत्ति वितरण, सहयोग सहित सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
धरान १ निवासी महेश प्रधान र अन्जु प्रधानले आमा बाबुको स्मृतिमा स्थापना गरेको प्रतिष्ठानले शुक्रबार सिद्धि नेवा परिषद्को सभाहलमा उक्त कार्यक्रम सम्पन्न गरेको हो।
प्रतिष्ठानले धरान ८ स्थित ल्यावोरेटरी मा.वि. मा कक्षा ११ मा अध्ययनरत छात्रा सुस्मिता तामाङ, धरान १५ स्थित शिक्षा सदन मा. बि. मा कक्षा ११ मा अध्ययनरत छात्रा लक्ष्मी माझी, धरान १७ स्थित ज्वालामुखी मा. वि. मा व्यवस्थापन संकाय कक्षा ११ मा अध्ययनरत छात्रा सोनिया राई, धरान १२ स्थित पब्लिक हाईस्कुलमा कक्षा ११ इलेक्ट्रिकल संकायमा अध्ययनरत छात्रा सन्याम विष्टलाई जनही नगद ७ हजारका दरले छात्रवृत्ति प्रदान गरेको छ । भने स्पाइनलकडका विरामी पुण्य प्रसाद प्याकुरेलका छोरी एरुसा र छोरा आयुषलाई शैक्षिक स्टेशनरीको लागि नगद ५ हजार ५ सय प्रदान गरिएको छ ।
यस्तै धरान १ स्थित सरस्वती आधारभूत विद्यालयलाई ६ बटा कम्प्यूटरको लागि कम्प्युटर टेबुल प्रदान गरिएको छ । र धरान १५ स्थित ङाग्युुर डोल्मा छ्योलिङ गुम्बालाई भवन निर्माणार्थ १५ हजार ५०० सय नगद प्रदान गरेको छ।
कार्यक्रममा पत्रकारिताको क्षेत्रलाई कर्मथलो बनाउने सञ्चारकर्मी स्नेहा श्रेष्ठलाई नगद ७ हजार सहित दोसल्ला सम्मान पत्रले टंक बहादुर प्रधान पत्रकारिता पुरस्कारले पुरस्कृत गरिएको छ भने विपी प्रतिष्ठान धरानको स्वास्थ्य र सामाजिक क्षेत्रमा योगदान गर्नुहुने प्रा.डा. विक्रम प्रसाद प्रधानलाई विशेष सम्मान गरिएको छ ।
प्रमुख अतिथि भाषाविद प्रा.डा. टंक प्रसाद न्यौपानेले आफ्नो आमाको स्मृतिमा छोरा बुहारीले गरेको पुण्य कार्यको मुक्त कण्ठले प्रशंसा गरे। साथै उनले नेपाल आमाको संरक्षणका निम्ति पनि नेपालीहरू वेलैमा जाग्नु र लाग्नु पर्ने समय आएको न्यौपानले बताए। कार्यक्रममा अतिथीहरुले आमा बाबुको नाममा समाजका लागि गरेको यस किसिमको सहयोग सबैले उदाहरणको रूपमा लिनुपर्ने धारणा व्यक्त गरेका थिए।
अतिथिहरूमा सिद्ध नेवा परिषद्का अध्यक्ष गोकुल प्रसाद श्रेष्ठ, नेवा देय दवु कोशी प्रदेश वरिष्ठ उपाध्यक्ष बसन्त कुमार श्रेष्ठ, केदार कुमार श्रेष्ठ रहेका थिए।

