
धरान: धरानमा जेन-जी आन्दोलनको आवरणमा भदौ २४ गते धरानमा भएको तोडफोड र आगजनीको घटनापछि स्थानीय राजनैतिक दलले घटनामा संलग्न व्यक्तिहरूलाई कडा कारबाहीको माग गरेका छन् । यस्तो विध्वंसकारी गतिविधि नियन्त्रण गर्न प्रहरीलाई आवश्यक परेमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
धरानस्थित नेपाली कांग्रेस, नेकपा एमाले, र नेकपा माओवादी केन्द्रका पार्टी कार्यालयहरूमा आगजनी र तोडफोड भएपछि दलहरूले क्रमशः इलाका प्रहरी कार्यालय धरानमा उजुरी दर्ता गराएका थिए । त्यही क्रममा धरान वाड नम्बर २ कार्यलयमा तोडफोड गर्ने बिरुद्व पनि वडा अध्यक्ष रमेश राईले उजुरी दिएका छन। उजुरी दर्ताका क्रममा प्रहरीले एक्लै नसक्ने अवस्था आए राजनीतिक दल र नागरिक समाज स्वयं अघि सर्ने बताएका हुन् ।
नेकपा एमाले धरान नगर कमिटीका अध्यक्ष हर्कजंग एभेङ्गले सार्वजनिक सम्पत्ति, निजी सम्पत्ति र पार्टी कार्यालयमाथिको हमला गम्भीर अपराध भएको बताउदै दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरीलाई सघाउन तयार रहेको बताउनुभयो ।
जेन-जी आन्दोलनपछिको अव्यवस्थित गतिविधिका नाममा भएका यी तोडफोडका घटनाले धरानको शान्तिपूर्ण वातावरणलाई प्रभावित बनाएको उनीहरुको भनाई छ । घटनाबारे उजुरी दिन पुगेका नेताहरूले कानुनी राज्यमा हिंसात्मक गतिविधिको कुनै स्थान नरहेको धारणा राखेका थिए ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगुले प्रहरी आफैं निरीह बन्नु परेको अवस्था रहेको बताउदै खोसिएका हतियार, बर्दी र क्षतिग्रस्त भवन कारण प्रहरीको मनोवलमा असर परेको बताउदै अहिले प्रहरीले त्यस कुरामा समेत ध्यान दिनुपरेको बताउनुभयो । तथापि, उहाँले दोषीहरूलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाउनुभयो ।
भदौ २४ गतेको घटनामा नेपाली कांग्रेस, नेकपा एमाले, र माओवादी केन्द्रको पार्टी कार्यालयहरूमा तोडफोड र आगजनी हुनुका साथै पूर्व मेयर मनोज मेन्याङ्बो, पूर्व प्रमुख मञ्जु भण्डारी सुवेदी, कार्यपालिका सदस्य सिर्जना नेपाल, काँग्रेस कोशी प्रदेश महामन्त्री उमेश थापा र क्षेत्र नं. १ का सभापति सुजेन्द्र तामाङ लगायतका घर तथा निजी सम्पत्तिमा समेत क्षति पुर्याइएको थियो ।
यसमध्ये ७ जना पीडितले प्रहरीमा पहिले नै उजुरी दिएका छन् भने प्रहरीले केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।