
धरानमा जेन-जी आन्दोलनमा भदौ २४ गते भएको तोडफोड र आगजनीका घटनाप्रति नगरप्रमुख हर्कराज राईले वेवास्ता गरेको भन्दै उपमहानगरपालिकाका वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुले नगरप्रमुख राईको आलोचना गरेका छन्। उनीहरुले नगरप्रमुखलाई “गैरजिम्मेवार“ भन्दै ती घटनामा उचित ध्यान नदिएको आरोप लगाएका हुन।
राजनीतिक दलका पार्टी कार्यालयहरु, पूर्व उपप्रमुख मञ्जु भण्डारी, संघीय सांसद जयकुमार राई, नेपाली काँग्रेस कोशी प्रदेश महामन्त्री उमेश थापा, सुनसरी–१ का क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, तथा पूर्व मेयर मनोज मेन्याङको घरमा तोडफोड र आगजनी हुँदा पनि नगरप्रमुख चुप बस्नु प्रश्न उठाउने विषय भएको उनीहरुको भनाइ छ ।
वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले एमाले, काँग्रेस र माओवादी केन्द्रका पार्टी कार्यालयमा क्षति पुगेकाले तत्काल अनुगमन गर्नुपर्ने बताउँदै व्यक्तिगत रुपमा क्षति पुगेका घर र सम्पत्तिको समेत लगत राख्न स्थानीय सरकारले अग्रसरता देखाउनुपर्ने माग गरे ।
उनले भने, ‘नगरप्रमुख मन्त्री बन्ने आशा मरेपछि फर्किएर यस्तो विषम परिस्थितिमा नगरसभा गर्न तत्पर देखिए पनि, अहिले धराने जनताको पीडामा चासो नदेखाउनु गम्भीर लापरबाही हो ।’
धरान–१७ का वडाध्यक्ष मनोज भट्टराईले भने यो आन्दोलन परिवर्तनको नभई अराजकताका लागि गरिएको भन्दै घट्नामा संलग्नहरुलाई ‘छानीछानी’ सम्पत्ति नष्ट गर्ने र लुटपाट गर्ने नियतले आएको आरोप लगाए ।
यद्यपि, मेयर हर्कराज राईले भने जो–कोही भए पनि कानुनको कठघरामा ल्याइने बताए । उनले भने, ‘कसुर ठहरिएका व्यक्ति जुनसुकै दलका हुन् वा स्वतन्त्र हुन्, कानुनी कारबाहीमा उनीहरुलाई छुट हुने छैन । कानूनभन्दा माथि कोही पनि हुँदैन ।’
कार्यपालिका बैठकले जेन जी आन्दोलनमा शहिद भएका धरान वडा नं ५ निवासी साजन मेवाहाङ राईका दुई छोरालाई ५ लाख रुपैयाको शैक्षिक कोष खडा गरिदिने निर्णय गरेको छ । कार्यपालिका बैठकले नगद दिने भन्दा पनि छोराहरुको शिक्षाको लागि बैठकमा पैसा जम्मा गरेर कोष खडा गर्ने सर्वसम्मत निर्णय गरेको हो ।
देशको विषम परिस्थितिलाई ध्यानमा राख्दै भदौ २६ गते हुने भनिएको नगरसभा असोज ४ गतेका लागि सारिएको नगर कार्यपालिकाले जनाएको छ । आजको कार्यपालिकाबाट बजेट पास भएको छ। २ अर्ब २० करोड, ७४ लाख बजेट पास भएको हो। भदौ ४ गते शनिबार नगरपालिका परिसरमा नगरसभा हुने भएको छ।