
धरान: धरानमा पछिल्लो समय देखिएको अशान्ति र हिंसात्मक घटनाका कारण उत्पन्न संकटपूर्ण अवस्थालाई मध्यनजर गर्दै ‘सर्वपक्षीय नागरिक बचाउ अभियान २०८२’ ले शनिवार एक अपील जारी गरेको छ । अभियानले धरानको सामाजिक सद्भाव, सहिष्णुता र शान्ति कायम राख्न सबै नगरवासीलाई एकजुट हुन आह्वान गरेको छ ।
अपीलमा भनिएको छ, ‘धरानको सामाजिक सद्भाव, सहिष्णुता र शान्ति कायम बनाई राखौ, सार्वजनिक र व्यक्ति विशेषको सम्पत्ति लुटपाट र आगजनी हुनबाट जोगाऔं ।’
नेपाल सरकारले सामाजिक सञ्जाल नियमन गर्ने उद्देश्यका साथ दर्ता नभएका केही प्लेटफर्महरू निष्क्रिय गरेपछि सुरु भएको जेन-जी युवाहरुको आन्दोलनमा भदौ २३ गते १९ जना युवाहरूले ज्यान गुमाएपछि उत्पन्न घटनाले सिंगो देशमा शोक र आक्रोशको वातावरण सिर्जना भएको अभियानले जनाएको छ । सर्वपक्षीय अभियानले घटनामा ज्यान गुमाएका युवाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरेको छ ।
प्रधानमन्त्रीको राजीनामापछि भदौ २४ गते धरानको भानुचोकमा भएको शान्तिपूर्ण विरोध कार्यक्रम सकिएपछि केही अपराधिक समूहले प्रतिशोधको भावनाबाट प्रेरित भई पार्टी कार्यालयहरू, व्यवसायिक भवन (भाटभटेनी) तथा नागरिक अगुवाहरूको निजी सम्पत्तिमा लुटपाट र आगजनी गरेकोप्रति अभियानले गम्भीर आपत्ति जनाएको छ ।
उक्त घटनामा ४ जनाको ज्यान गएको पुष्टि भइसकेको छ । तोडफोड र हिंसात्मक गतिविधिमा श्रम अभियानका अगुवा धरान नगर प्रमुख हर्क साम्पाङका विशेष सहयोगी एवं स्वतन्त्र नागरिक समाजका सदस्य मिलन बान्तावा राईको संलग्नता रहेको र उनले नै त्यसको स्वीकारोक्ति गरिसकेको जनाइएको छ ।
सर्वपक्षीय अभियानले अपराधमा संलग्न जो–कोहीलाई कानुन बमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ । हिंसा र आतंकले धरानवासीमा उत्पन्न डर र असुरक्षा हटाउन २० वटै वडाका क्रियाशील व्यक्तित्व र नागरिक अगुवाहरू मिलेर अभियान गठन गरिएको स्पष्ट गरिएको छ ।
अपीलमा जननिर्वाचित नगरप्रमुख हर्क साम्पाङको भूमिकाप्रति गम्भीर असन्तुष्टि प्रकट गरिएको छ । ‘यस्तो विषम परिस्थीतिमा व्यक्तिगत सरोकारको स्ट्याटस मात्रै पोस्ट गर्नु नगरप्रमुखको जिम्मेवारीबाट विमुख हुनु हो,’ अपीलमा भनिएको छ ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले संवैधानिक मूल्य मान्यता भित्र रही देशलाई निकास दिने कार्यमा जुटिरहेको भन्दै अभियानले समर्थन जनाएको छ । चा“डोभन्दा चाँडो निर्वाचन गराई देशमा स्थायित्व र शान्ति कायम गर्न पनि अभियानले आग्रह गरेको छ ।