
धरान: धरान उपमहानगरपालिकाको कार्यपालिकाको आज भएको बैठकमा मेयर, उपमेयर कोष र भिजन कोषमा सहमती नभए पछि कार्यपालिका बैठक स्थगित भएको छ।
नीति तथा कार्यक्रम अनुमोदन गर्ने, बजेट सिलिङ पास गर्ने, ब्रेक डाउन भएका बजेट पास गर्ने, कर्मचारी तह वृद्धि गर्ने, योजना अनुमोदन गर्ने, पालिका गान अनुमोदन गर्ने लगायतका २६ वटा बुँदामाथि छलफल गर्ने भनिए पनि बैठकमा विवाद उत्पन्न भएपछि कार्यपालिका बैठक आगामी शुक्रबार आयोजना गर्ने निर्णय सहित स्थागित भएको छ ।
वडाध्यक्षहरुले मेयर र उपमेयको अन्तरिक द्वन्द्वका कारण असार १० गते नै आउनुपर्ने बजेट समयमै नआएको आरोप लगएका थिए । धरान १९ का वडाध्यक्ष पूर्ण लिम्बुले मेयर र उपमेयरकै द्वन्द्वकै कारण बजेट आउन ढिला भएको आरोप लगाउनुभयो । उहाँले धरान उपमहानगरपालिकाको बजेट एक अर्ब ६० करोड भन्ने सुन्नमा आएको बताउदै त्यसैको सेरोफेरोमा बसेर बजेट निर्माण गर्नुपर्ने भएपनि मेयर र उपमेयरको कोष, भिजन कोषमा विवाद भएपछि बजेट नआएको आरोप लगाउनुभयो । वहाँले राजस्व परामर्शले दिएको जानकारी अनुसार बजेट बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले करको दायरा नभई कर मात्र बढाउने काम गरेको बताउदै जनता, मजदुरको ढाँढ सेकिने गरी घाटा बजेट बनाउनुको कुनै औचित्य नभएको बताउनुभयो ।
धरान १० का वडाध्यक्ष विवेक राईले बजेट सिलिङ पठाउदा पक्रियागत रुपमा नपठाएको बताउनुभयो । उहाँले धरान उपमहानगरपालिकाको एकिन बजेट कति हो भन्ने कुरा उपमहानगरपालिकाले जानकारी गराएपछि मात्र बजेट सिलिङ वडाले पठाउने उपमहानगरपालिकाले पक्रियागत रुपमा पास गर्ने स्मरण गराउनुभयो ।
धरान उपमहानगरपालिकाको एकिन बजेट कति हो भन्ने जानकारी नै वडाध्यक्षलाई नभएको वडाध्यक्ष राईले बताउनुभयो ।
यस्तै कार्यपालिका सदस्य सिर्जना नेपालले धरान उपमहानगरपालिकामा तीन बर्षदेखि सार्वजनिक सूचना नभएको बताउदै मेयरको सामाजिक सञ्जाल फेसबुकमार्फत कार्यपालिकाका सदस्यले जानकारी पाउनुपर्ने प्रवृत्तिको खेद प्रकट गर्दै ढिलो भयो भन्दैमा जस्तोसुकै बजेट सार्वजनिक गरौ भन्ने पक्षमा आफूहरु नभएको स्पष्ट पार्नुभयो ।
यस्तै ७ नं. वडा कार्यालयका वडाध्यक्ष जीवन सुवेदीले वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले यस अघि नै समयमै बजेट ल्याउनुपर्ने पर्ने विषयमा ज्ञापनपत्र बुझाउदा पनि मेयर राई गम्भीर नभएको आरोप लगाउनुभयो ।
नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले बजेट ढिला हुनुमा मेयर र उपमेयरको द्वन्द्वलाई दोषारोपण गरेका छन ।
कार्यपालिका बैठकलाई बोल्दै धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले सबैको सहमतिबाट बजेट बन्नुपर्ने धारणा राख्नु भएको थियो । उहाँले बैठकमा हरेक कुरालाई समेटेर वैज्ञानिक ढंगबाट बजेट आउनुपर्छ भन्ने मान्यताकै कारण बजेट आउन ढिला भएको स्पष्ट पार्नुभयो ।
छलफलमा ब्रेक डाउन भएर आएका बजेटहरुमा विवादित बनेको मेयर भिजन र उपमेयर भिजनसमेत समावेश गरिएको थियो । मेयर कोष र उपमेयर कोष पनि अलगै शिर्षकमा बजेट विनियोजन गरिएका कारण यस विषयमा पनि सहमति हुन सकेन ।
यस विषयमा स्रोत अनुगमन तथा सिमा निर्धारण समितिमा सदस्य रहेका एमालेका जनप्रतिनिधिहरुले यस अघि पनि सहमति जनाएका थिएनन् भने कांग्रेस, माओवादीले सहमतिमा हस्ताक्षर गरिसकेका छन् ।
एमालेका जनप्रतिनिधिहरुको असहमतिकै बीच वडा वडामा धरान उपमहानगरपालिकाले बजेट सिलिङ पठाएपछि कार्यपालिकाबाट सिलिङ अनुमोदन नगरि वडामा पठाएको सिलिङमा एमालेका जनपतिनिधिहरुले असहमति जनाएका थिए । मेयर भिजन कोष र उपमेयर भिजन कोषका विषयमा एमालेका जनप्रनिनिधिहरुले नगर गौरवको योजना वा अन्य कुनै शिर्षकमा योजनाहरुलाई समावेश गर्नुपर्ने धारण राखेका थिए उनीहरुको थियो ।
स्रोत अनुगमन तथा सिमा निर्धारण समितिले २ अर्ब २० करोडको बजेट तय गरेको छ । यो बजेट उपमेयर अइन्द्रबिक्रम बेघा संयोजक रहेको बजेट तर्जुमा समितिले बुझाएको प्रतिवेदन भन्दा बढी हो । उक्त समितिले १ अर्ब ६० करोड हराहारीमा बजेट बनाउन सुझाव दिएको थियो । सिमा निर्धारण समितिले भने २ अर्ब २० करोड ७४ लाखको बजेट बनाउने निर्णय गरेको छ ।