
धरान: धरान उपमहानगरपालिकालाई अहिले नगर अस्पताल बनाउन बाध्यात्मक परिस्थिति सिर्जना भएको छ । बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानलाई वीमाको प्रथम सेवा केन्द्रबाट हटाएर रिफारल सेन्टरको रुपमा स्वास्थ्य वीमा बोर्डको निर्णयबाट मान्यता दिएसँगै उपमहानगरपालिकालाई बाध्यात्मक परिस्थिति सिर्जना भएको हो ।
विगतमा दलहरुसँग कुनै छलफल र सहकार्य नगर्ने धरानका मेयर हर्कराज राईले राजनीतिक दलसँग यस विषयमा छलफल र सहकार्य गर्ने वातावरण बनाएका थिएन । तर तत्काललाइ अर्थात असोज मसान्तसम्म वीमाको प्रथम सेवा केन्द्रमा रुपमा बीपीलाई मान्यता दिएको त्यसपछि समस्या उत्पन्न हुने भएपछि मेयर राईले यस विषयमा छलफल चलाएर एउटा समास्या समाधान गर्न पहल समिति नै बनाउने निष्कर्ष निकालेका छन् ।
धरानमा स्वास्थ्य वीमा बोर्डले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रथम सेवा केन्द्रको अधिकार नदिई रिफरल सेन्टरको रुपमा मान्यता दिएपछि धरानबासीले वीमाबाट सेवा लिने समय अवधि नजिकिदै जाँदा उपमहानरपालिकाले गम्भीरताका साथ लिएर राजनीतिक दल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुसँग छलफल चलाएको हो । बोर्डले गरेको निर्णयपश्चात धरानका राजनीतिक दल, नागरिक समाज लगायतले गरेको आन्दोलनपश्चात असोज मसान्तसम्म बीपीबाट नै वीमा सेवाको प्रथम केन्द्रको रुपमा रहने र असोज मसान्तपछि उपमहानगरपालिकाले विकल्प खोज्नुपर्ने अवस्था सिर्जना भएसँगै उपमहानगरपालिकाका मेयर हर्कराज राईले छलफल चलाएका छन ।
विगतमा दलहरुले नै उपमहानगरपालिकालाई स्वास्थ्य जस्तो गम्भीर विषयमा उपमहानगरपालिकाले वेवास्ता गरेको भन्दै ध्यानाकर्षण पत्र बुझाएर छलफल समेत चलाएको थियो । दलहरुसँग छलफल र सहकार्यको नामै नलिने मेयर राईले आफै पत्र काटेर दलसहित बीपीका पदाधिकारीसँग छलफल गरेपछि छलफलले पहल समिति बनाउने निष्कर्षमा पुगेको छ ।
उपमहानगरपालिकाकै मेयर राईको संयोजकत्वमा दल सम्मिलित पहल समिति बन्ने भनिए पनि आगामी छलफलमा बनाउने निष्कर्षसहित छलफल सकिएको थियो । धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्र विक्रम बेघा दलहरुको तर्फबाट नेपाली काँग्रेस धरान उपमहानगर समितिका सभापति श्याम पोख्रेल, जनता समाजवादी पार्टीका नगर अध्यक्ष ताजुव लिम्बु, नेकपा एसका धरान अध्यक्ष रेवतीरमण राईले धरान उपमहानगरपालकाको नाममा रहेको धरान १ पुरानो अस्पताल हाल बीपीको नाममा रहेकोले त्यो जग्गालाई धरान उपमहानगरपालिकाकै नाममा ल्याउन पहल गर्नुपर्ने, नगर अस्पताल सञ्चालनका लागि प्रतिष्ठानसँग प्राविधिक तथा मेनपावर माग गर्नुपर्ने लगायतका विषयमा उठान गरेका थिए ।
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले छलफलमा उठेका दलहरुका सकारात्मक कुरालाई मनन गर्दै विगतमा धरान १ मा रहेको पुरानो अस्पताल नगरकै सम्पत्ति भएकोले यसलाई नगरकै मातहतमा ल्याउन र सोही स्थानमा नगर अस्पताल बनाउनुपर्नेमा जोड दिनुभयो । छलफलबाट निस्केको निष्कर्ष आगामी छलफलमा पहल समिति गठन गरेर अगाडि बढ्ने कुरालाई सकारात्मक रुपमा लिँर्दै आगामी छलफलमा पहल समिति बनाएर अगाडि बढ्ने मेयर राईले बताएका छन ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुले भने दलका प्रतिनिधि तथा मेयर राईको मत भन्दा केही फरक मत राखेका थिए । प्रतिष्ठानका निर्देशक डा. जगत नारायण प्रसादले धरानबासीको स्वास्थ्यलाई मध्यनजर गरी बीपीले वीमा सेवाबाट बञ्चित हुन नदिने कुरामा गम्भीर भएको बताएका थिए । भर्खरै नियुक्ति भएका उपकुलपति प्रा.डा. विक्रम प्रसाद श्रेष्ठ धरानकै बासिन्दा भएकोले यस विषयमा नियुक्ति भएर आउने वित्तिकै पदाधिकारीबीचमा छलफल चलाएको बताउँदै कसको नाममा जग्गा छ भन्ने भन्दा पनि बीपीले नै नगर अस्पताल सञ्चालन गर्न प्राविधिक, मेनपावर प्रयोग गर्ने र यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारले सघाउनुपर्ने बताएका थिए।
निर्देशक जगत नारायण प्रसादले विपि प्रतिष्ठानले ८ वटा जिल्ला सेवा विस्तार गर्ने लक्ष्य लिएको र धरानको नगर अस्पताल सञ्चालनमा पनि बीपीले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
वीमाको प्रथम सेवा केन्द्र सरकारी अस्पताललाई मात्र मान्ने निर्णय गरेसँगै धरानेहरु वीमा सेवाबाट बञ्चित भएको भन्दै नौ दल संगठित रुपमा आन्दोलित बनेका थिए । नौ दलले आन्दोलनकै स्वरुप अनुरुप धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईलाई ज्ञापनपत्र बुझाएका थिए । धरानबासीको आन्दोलन प्रश्चात नेपाल सरकारले असोज मसान्तसम्म वीमा सेवा बीपीबाटै प्रदान गरिने निर्णय गरेको थियो । जनताले पाउने स्वास्थ्य अधिकारको विषयमा नेपालको संबिधानमै उल्लेख भएको भएपनि तोकिएको म्यादपछि विमितहरुले पाउने असुविधालाई ध्यानमा राखेर छलफल चलाइएको हो । छलफलमा धरानबासीको असुविधालाई ध्यानमा राख्दै विमितलाई सहज उपचार प्रदान गर्न बीपी प्रतिष्ठान, धरान उपमहानगरपालिका र राजनीतिक दलहरु सहमत भएका थिए ।