
धरान: धरानका सञ्चारकर्मीहरु स्थानीय सरकारबाटै असुरक्षित भएकोप्रति सरोकारवाला पक्षले सर्वत्र चिन्ता व्यक्त गरेका छन् । प्रेस चौतारी नेपाल सुनसरीले क्यान्लेन्डर सार्वजनिक तथा अक्षय कोष निर्माणको घोषणाका क्रमम यस्तो बताएका हुन् ।
पछिल्लो समय धरानमा स्थानीय सरकारबाटै सञ्चारकर्मीहरु असुरक्षित भएसँगै सरोकारवाला पक्षहरुको गम्भीर ध्यानाकर्षण भएको छ । प्रेस चौतारी सुनसरीले प्रकाशित गरेको क्यालेन्डर सार्वजनिक तथा ‘प्रेस नेपाल सुनसरी अक्षय कोष’ निर्माणको घोषण कार्यक्रममा बोल्ने सञ्चारकर्मी तथा सरोकारवालाहरुले यस्तो बताएका हुन् ।
कर्यक्रममा बोल्दै कोशी प्रदेश सांसद विजय राईले आफ्नो पक्षमा समाचार आउँदा वाइवाई गर्ने र विपरीत समाचार सम्प्रेषण गर्ने क्रममा मेयर हर्कराज राईकै समर्थकले हातपात गर्ने, दुव्र्यवहार गर्ने प्रवृत्ति मौलाउँदै जाँदा धरानका सञ्चारकर्मीहरुले असुरक्षित महसुस गर्ने गरेको तीतो यथार्थ बताउदै नगरप्रमुख राईको पक्षमा एकतर्फी भिडियो हाल्नेहरुका कारण यस्तो अवस्था आएको बताउनुभयो । उहाँले प्रोपण्डा रच्न माहिर प्रमुख राईको पक्षमा भिडियो बनाउनेहरुले अझ अराजक गतिवधिमा सहयोग गरेको आरोप लगाउनुभयो ।
यता प्रेस स्वतन्त्राको विषयमा संविधानमै उल्लेख भएको कुरा भएको भन्दै अर्का सांसद रमेश बस्नेतले संघीयता कायम भएपनि कानुन निर्माणमा समस्या भएकाले यी यावत समस्या बढेर गएको बताउनुभयो । उहाँले लोकतन्त्रमा सञ्चारकर्मी असुरक्षित हुनुपर्ने अवस्था आउनु विडम्बना भएको बताउनुभयो ।
यस्तै धरानका अग्रज पत्रकार हर्ष सुब्बाले स्थानीय सरकारले प्रेस स्वतन्त्रताको कुरालाई मनन गरेर अगाडि बढ्नुपर्नेमा दादागिरीको भरमा सञ्चारकर्मीमाथि आक्रमण गर्ने, धाक धम्की दिने कामले धरानमा सञ्चारकर्मीहरुले काम गर्न नसक्ने अवस्था रहेको बताउनुभयो ।
प्रेस चौतारी नेपाल सुनसरीका अध्यक्ष विकास चाम्लिङ राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रेस चौतारी नेपाल सुनसरीले प्रकाशित गरेको ०८२ सालको क्यालेन्डर सार्वजनिक गरिएको थियो भने अक्षय कोष निर्माणको घोषणा गरिएको थियो । सुनसरीका सञ्चारकर्मीहरुलाई प्रोत्साहन गर्न निर्माण गरिएको कोष १० लाखको बनाइने जनाइएको छ । अहलेसम्म नेकपा एमालेका प्रदेश कमिटीका प्रचारप्रसार विभाग उपप्रमुख भीम ज्वाला राईले ५ हजार, प्रेस सेन्टर नेपाल सुनसरीका अध्यक्ष विकास चाम्लिङले ५ हजार ५, प्रेस चौतारीका नेता लिलाराज भट्टराईले ५ हजार, प्रेस चौतारी प्रदेश कमिटीका अध्यक्ष सुमनपुरीले ५ हजार, सुनसरी इन्चार्ज हिमाल दाहालले ५ हजार, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेले ५ हजार र उपाध्यक्ष यसोदा सेनाले १० हजार ५ रुपैया अक्षयकोषमा जम्मा गरिएको सार्वजनिक समेत गरिएको थियो ।
सो अवसरमा नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष राजेश विद्रोही, निवर्तमान अध्यक्ष जनकऋषि राई, महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले, प्रेस नेपाल सुनसरीका अध्याक्ष तीर्थ कार्की विगत र अहिलेको घट्ना क्रमलाई हेर्दा धरानमा बसेर पत्रकारिता गर्न अफ्ठेरो परिस्थिति रहेको बताएका थिए ।