
धरान: भर्खरै सम्पन्न निर्वाचनबाट सुनसरी उद्योग वाणिज्य संघ धरानको अध्यक्षमा गोपाल श्रेष्ठ विजयी हुनु भएको छ ।
श्रेष्ठले उहाँका प्रतिद्वन्द्वी शिवराज श्रेष्ठलाई भारी मतले पराजित गर्नुभएको हो । निर्वाचन अधिकृत प्रा.डा. राजेन्द्र शर्माका अनुसार विजयी बन्ने गोपाल श्रेष्ठले १६०५ मत ल्याउनु भएको थियो भने पराजित भोग्नु भएका शिवराज श्रेष्ठले ६४७ मत प्राप्त गर्नुभएको छ । दुवै प्रतिष्पर्धीबीचमा ९५८ को फराकिलो मतान्तर रहेको थियो ।
यसैगरी उद्योग सदस्य तर्फ कृष्ण प्रसाद पाठकले ४८१, प्रभाव खतिवडाले ५०३, विष्णु बरालले ५५०, महेन्द्र प्रधानले ५४६, मत प्राप्त गरेर विजयी हुनु भएको छ भने् सोही पदका उमेद्वार उमेश अग्रवालले २१३, खड्ग बहादुर बस्नेत (राजु)ले २१६, शिवानन्द साहले २६१ मात्र प्राप्त गर्दैै पराजित बनेका छन् ।
यस्तै वाणिज्यतर्फको महिला उमेद्वारमा वर्षा अग्रवाल श्रेष्ठले ८८० मत प्राप्त गरी विजयी हुनु भएको छ भने प्रतिद्वन्द्वी ममता शाक्यले ४५३ मत मात्र प्राप्त गर्दै पराजित बन्नु भएको छ ।
एसोसिएट तर्फ शिवराज श्रेष्ठ प्यानलका राजु साहले ८५, राजेश अग्रवालले ८० र गोपाल श्रेष्ठको प्यानलका ललित अग्रवालले ११७ मत प्राप्त गरेर विजयी बन्नु भएको छ भने सोही पदका लागि उम्मेद्वार दिनुभएका गोपाल श्रेष्ठ प्यानलका अशोक जैनले ६२ र मनिष अग्रवालले ५९ मत मात्र प्राप्त गर्दै पराजय भोग्नु परेको छ ।
उद्योग महिला तर्फ मिना राई(मगर) र बस्तुगततर्फ नवीन कुमार तामाङ र नारायण लिम्बू निर्वाचन अगाडि नै निर्विरोध निर्वाचित हुनुभएको थियो ।
नवनिर्वाचित अध्यक्ष गोपाल श्रेष्ठले सबै मतदाताहरुलाई धन्यवाद दिँदै् उद्योगी तथा व्यवसायीहरुको हितमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
शान्ति तथा सौहाद्र्धपूर्ण निर्वाचन सम्पन्न भएको निर्वाचन अधिकृत प्रा.डा. राजेन्द्र शर्माले जानकारी दिनुभयो ।
सो अवसरमा नवनिर्वाचित पदाधिकारीहरुको कार्यकालको सफलताको शुभकामना व्यक्त गर्दै सुनसरी वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सुरक्षाकर्मी, मतदाता, उद्योगी व्यवसायीहरुलाई धन्यवाद दिनुभयो ।
सुनसरीका उद्योगी व्यवसायीहरुको हकहितका लागि स्थापना भएको सुनसरी उद्योग वाणिज्य संघको निर्वाचनलाई स्थानीय तहको निर्वाचन सरह हेर्ने गरिएको छ । उद्योगी व्यवसायीहरुले यहाँ निर्वाचित भएर आउने पदाधिकारीहरुबाट धेरै अपेक्षा लिएका हुन्छन् ।