
धरान: धरान उपमहानगरपालिकामा स्वतन्त्र मेयरका रुपमा हर्क साम्पाङ निर्वाचित भएर तीन बर्ष वितिसक्दा पनि वडाध्यक्ष, कार्यपालिका सदस्यहरु एक मत नहुदा अधिंकांश समय तनावमै वित्ने गरेको छ ।
निर्वाचित भएपछि बसेको पहिलो कार्यपालिका बैठकबाटै मेयर र अन्य जनप्रतिनिधिबीचको मनमुटावका कारण कतिपय कार्यपालिका बैठक बस्न सकेको छैन भने कामकारबाहीमा समेत विवाद उत्पन्न हुने गरेको छ ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ दिनप्रतिदिन विवादित बन्दै जानु भएको छ । उहाँले गरेको कार्यशैली स्थानीय निकाय सञ्चालन ऐन २०७४ विरुद्ध एकल ढंगले मनोमानी ढंगले काम गर्ने भन्दै अन्य जनप्रतिनिधिहरुले आरोप लगाउदै बेला बेला विवाद उत्पन्न हुने गरेको हो ।
पछिल्लो समय धरान १६ मा निर्माणाधीन बहुभाषिक पाठशाला संरक्षण गर्न गरिएको श्रमदानको रकम निकासा र स्थानीय उपभोक्ता गठन नगरी खोलामा तारजाली हाल्ने विषयमा मेयर आफैले फर्जी उपभोक्ता समिति गठन गरी कानुनको धज्जी उडाउदै मनोमनी ढंगले काम गरेको अन्य जनप्रतिनिधीको आरोप छ ।
सोमबार दिउँसो २ बजे आर्थिक वर्ष २०८२/०८३ को बजेट सीमा निर्धारण सम्बन्धी बैठकमा प्रमुख साम्पाङले श्रमदानमा संलग्न मेयरका नजिकका श्रमदाताहरुलाई नगरपालिकामा बोलाई विवाद झिकेपछि केहीबेर तनाव भएको थियो ।
मेयर साम्पाङले विधिसम्वत ढंगबाट काम नगरी गैरकानुनी ढगबाट काम सम्पन्न भएपछि अनुगमनका लागि आग्रह गरिएपछि आफूले नमान्दा विवाद चर्किएको उपमेयर अइन्द्र विक्रम बेघाले बताउनुभयो । उहाँले संस्थागत, बजेटमा परेको कामभन्दा बाहिरको काम गर्न नसकिने भएकोले जबरजस्ती छलफल गराएर प्रक्रिया अगाडि बढाउन खोज्दा आफूले यसलाई स्वीकार नगर्दा मेयरका श्रमदाताहरुले अनावश्यक तिक्डम झिकेर तनाव सिर्जना गरेको बताउनुभयो ।
धरान १६ मा गरिएको कामको विषयमा वडाबासी र वडाध्यक्षलाई नै थाहा नदिएको धरान १६ का वडाध्यक्ष मुरारीप्रसाद भट्टराईले बताउनुभयो । उहाँले वडामा गर्ने काम वडाबाटै उपभोक्ता समिति गठन गरेर काम गर्ने स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा उल्लेख भएपनि मेयरले सम्बन्धित वडाभन्दा बाहिरका मान्छेलाई उपभोक्ता बनाएर काम गरेकोले मान्य नहुने बताउनुभयो । उहाँले कानुनसम्मत ढंगबाट गरिएको कामको जिम्मा आफूले लिन नसकिने भन्दै यसमा वडाले समर्थन गरेर जान नसक्ने बताउनुभयो ।
यही विषयमा उपमहानगरपालिकाभित्र केही बेर तनाव सिर्जना भएको थियो । वडा वडामा सिहदरबार भन्ने नारालाई लत्याउदै जनप्रतिनिधिलाई सामान्य ठानेर मेयर हर्कराज राईले मनोमानी ढंगबाट काम गरेका कारण राजनीतिक दलका नेताहरु समेत आक्रोसित बनेका थिए । नेकपा मओवादी केन्द्र धरान उपमहानगर समितिका अध्यक्ष उद्धव लिम्बुले मेयरले मनोमनी ढंगबाट काम अगाडि बढाएकोप्रति रुष्ट व्यक्त गर्दै सच्चिन आग्रह गर्नुभयो । उहाँले अभिभावकले सबैलाई मिलाएर जानु पर्नेमा उल्टै आफ्ना अरौटे भरौटे भेला गराई विवाद निकाल्न खोजेकोप्रति इंगित गर्दै मेयर साम्पाङलाई विवादित भएर काम नगर्न चेतावनी दिनुभयो ।
धरान १६ को विकासका काम तथा निर्माणका काम गर्न वडाबासीबाटै उपभोक्ता समिति बनाएर काम अगाडि बढाउनुपर्नेमा निर्माणाधीन बहुभाषिक पाठशाला निर्माण स्थल वरीपरी तारजाली लगाउन धरान–१४ का प्रसाद राई, सत्य घले, समीर तामाङ लगायतको समिति बनाएर नियम विपरीत काम अगाडि बढाएको आरोप अन्य जनप्रतिनिधिहरुको छ । वडाको हरेक काम वडाध्यक्षको रोवहरमा हुनुपर्नेमा वडाध्यक्षलाई थाहै नदिई काम सम्पन्न गरेर बजेट सीमा निर्धारण सम्बन्धी बैठक राखेर विवाद बढाउने काम मेयरले गरेको आरोप अन्य जनप्रतिनिधिहरुको छ ।