
धरान : राष्ट्रियस्तरको आइबीए प्रो एण्ड एमेचर महिला पुरुष धरान फाईट नाइट-२०२५ को आय-व्यय विवरण आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।
धरान बक्सिङ्ग संघले धरान उपमहानगरपालिका, वडा कार्यलयहरु, धरान हङकङ मञ्च, होटल मेरिकन नेपाल युथ अर्गनाइजेशन युके लगायत विभिन्न संघसंस्थाहरुले सहयोग रकम र टिकट बिक्रीबाट १ लाख ६८ हजार रुपैयाँ संकलन गरि जम्मा ११ लाख ३२ हजार ४ सय ७० रुपैयाँ प्राप्त भएको र १३ लाख ३१ हजार ७ सय २९ रुपैयाँ भन्दाबढी खर्च भएको जानकारि संस्थाको सचिव महेश आलेले जानकारी दिए ।
गत वैशाख १२ गते धरान-१५ को चोम्लुङ भवनमा आयोजित प्रतियोगितामा एमेच्योर तर्फ ५ र प्रोफेसनल तर्फ ४ खेल समावेश गरिएका थिए ।
प्रतियोगितामा धरान सहित झापा, धनकुटा, काठमाडौं, ललितपुर, उदयपुर र त्रिभुवन आर्मी क्लबका खेलाडीहरूले सहभागिता जनाएका थिए ।
एमेच्योर विधामा दिव्या चेम्जोङ लिम्बु, सभ्रान्त लिम्बु, नवाहाङ राई, मनिष पराजुली र निकेश गुरुङ विजयी बनेका थिए । प्रोफेसनल विधामा फुङलाङ काम्बाङ, सिंहविर लिम्बु, सुलभ माली र सम्राट महर्जनले उपाधि हात पारे । प्रो विजेताहरूले जनही ३५ हजार र उपविजेताले २५ हजार पाए भने एमेच्योर विजेतालाई ६ हजार र उपविजेतालाई ३ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा २ लाख ८० हजार घाटा भएको आयोजकले जानकारी दिएको छ।