
धरान: सुच्चा राई कल्याणकारी समाजले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । समाजले सुच्चा राईको पहिचान तथा सँस्कृतिलाई जीवन्तता राख्न भूमिका खेलको भन्दै आफ्नो २५ औं बार्षिकोसवको अवसरमा आयोजित कार्यक्रममा दुई जना जेष्ठ नागरिक र भवन निर्माणमा सहयोग पुर्याउने एकजनालाई सम्मान गरेको हो ।
धरान २ भानुचौक स्थित लोकतान्त्रिक चौतारीमा २५ औं बार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रम तथा सम्मान कार्यक्रममा उहाँहरुलाई सम्मान गरिएको हो ।
सम्मानति हुनेहरुमा भोजपुर जिल्ला रामप्रसाद राई गाउँपालिका २ कटुञ्जे निवासी हाल धरान निवासी ८६ बर्षिया गंगादेवी सुच्चा राई र भोजपुर जिल्ला वास्तिम ४ मानेडाडाका ९८ बर्षीय मेघजित सुच्चा राईलाई सम्मान गरिएको हो । समाजका केन्द्रीय अध्यक्ष विनोद राईका अनुसार जीवन कालमा सुच्चा राईको भाषा, पहिचान र संस्कृतिलाई जीवन्तता राख्न खेलेको भूमिको मूल्यांकन गर्दै उहाँहरुलाई सम्मान गरिएको बताउनुभयो । उहाँले बर्षेनी सुच्चा राईका अग्रजहरुलाई बार्षिकोत्सवको अवसरमा सम्मान गर्दै जाने जानकारी दिनुभयो ।

यसैगरि सुच्चा राई वहुद्देश्यीय भवन निर्माणका लागि सहयोग गर्नुहुने भोजपुर रामप्रसाद राई गाउँपालिकाका चण्डी प्रसाद सुच्चा राईलाई समेत सम्मान गरिएको छ ।
सोही अवसरमा रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको छ । रक्तदानमा १६२ प्रीन्ट रगत संकलन भएको अध्यक्ष राईले जानकारी दिनुभयो ।
भाषा, सँस्कृति र पहिचानको मुद्धालाई युवापुस्ता सम्म पुर्याउदै सामाजिक कार्यमा समेत संलग्न गराउने उद्देश्यले गठन भएको समाजले अहिलेसम्म दर्जनभन्दा बढी सामाजिक कार्य गदै आएको छ भने प्रत्येक बर्ष बार्षिकोत्सवकै अवसरमा रक्तदान गरेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र रहेको नेपाल रेडक्रस सोसाइटी सुनसरीद्वारा सञ्चालित रक्त सञ्चार सेवालाई रगत अभाव हुन नदिनबाट केही सहयोग समेत पुर्याउदै आएको छ ।
