
धरान : रेखा पौडेलको डबल ह्याट्रिकसँगै नेपाल पुलिस क्लबले अन्तर्राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगितामा शानदार जित निकालेको छ। पुलिसले झापाको काँकडभिट्टा महिला फुटबल क्लबलाई ८–० गोल अन्तरले पराजित गरेको हो।
धरान–१६ स्थित धरान रङ्गशालामा मंगलबार राति भएको खेलमा पुलिसले पहिलो हाफमै ६ गोल गरेको थियो। खेलको १८औँ मिनेटमा सम्झना लावतीले गोल गर्दै पुलिसलाई अग्रता दिलाइन्।
त्यसपछि रेखा पौडेलले २६औँ, ३८औँ, ४४औँ र पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै व्यक्तिगत चार गोल पूरा गरिन्। ४१औँ मिनेटमा मिना देउवाले गोल थपेपछि पहिलो हाफमा पुलिस ६–० ले अघि रह्यो।
दोस्रो हाफमा पनि पुलिसले आक्रामक खेललाई निरन्तरता दियो। रेखाले थप दुई गोल गर्दै व्यक्तिगत छ गोल पूरा गरिन्। उनको डबल ह्याट्रिकसँगै पुलिसले ८–० को फराकिलो जित दर्ता गर्यो। खेलमा सम्झना लावती र मिना देउवाले समान एक–एक गोल गरे।
रात्रिकालीन खेल हेर्न धरान रङ्गशालामा दर्शकको बाक्लो उपस्थिति थियो।
धरान–१९ स्थित डी नाइन्टिन क्लबको आयोजनामा कात्तिक २८ देखि मङ्सिर ६ गतेसम्म प्रतियोगिता सञ्चालन भइरहेको छ। प्रतियोगितामा नेपालका सात क्लबसहित भारतको एक टोली गरी आठ टोली सहभागी छन्।
महिला फुटबललाई प्राथमिकता दिँदै धरानमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको गोल्डकप आयोजना गरिएको आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्। प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडीले ईभी स्कुटर पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिता अन्तर्गत बुधबार हुने खेल विभागीय टोली नेपाल आर्मी क्लब काठमाडौ र नेपाल एपीएफ क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

