
धरान : धरान बजारमा विक्री वितरणका लागि ल्याइएको पुर्वी पहाडी भेग भोजपुरको तिवारी भञ्ज्याङबाट धरान ल्याइएको १८ किलो अकबरे खोर्सानीमा अत्यधिक विषादी भेटिएपछि नष्ट गरिएको छ।
बिहीबार धरान–१३ स्थित कृषि उपज बजारमा गरिएको विषादी अवशेष द्रुत परीक्षणका क्रममा अकबरे खोर्सानीमा कार्वामेट १० दशमलव ८४७२ प्रतिशत र अर्गानोफस्फेट ४५ दशमलव १७१५ प्रतिशत विषादी भेटिएको कृषि बजारका नायब प्राविधिक सहायक रुपेश रिजालले बताए। मापदण्डभन्दा बढी विषादी भेटिएपछि उक्त खोर्सानी उपभोग अयोग्य ठहर गर्दै नष्ट गरिएको हो।
व्यापारी ज्ञानबहादुर बस्नेतले कृषकहरुबाट भोजपुरबाट ८ क्विन्टल अकबरे खरिद गरेका थिए। त्यसमध्ये १८ किलोमा विषादी भेटिएको हो।
धरान उपमहानगरपालिकाका अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै धरान कृषि बजारमा नियमित विषादी परीक्षण हुँदै आएको बताए। उनका अनुसार अन्य स्थानीय तहबाट विषादी परीक्षणबिनै कृषि उपज आउने भएकाले सबै पालिकाले यस्तो परीक्षण व्यवस्था लागू गर्न आवश्यक रहेको बताए ।
कृषि बजारमा ३५ प्रतिशतभन्दा कम विषादी अवशेष भेटिएका कृषि उपजलाई उपभोग योग्य मानिन्छ। ३५ देखि ४५ प्रतिशतसम्म भए केही दिन क्वारेन्टिनमा राखेर पुनः परीक्षण गरी बजार पठाइन्छ भने ४५ प्रतिशतभन्दा बढी विषादी भेटिए नष्ट गर्ने व्यवस्था रहेको प्राविधिक सहायक रिजालले बताए। कृषि बजारमा आउने फलफूल, खाद्य सामाग्री तरकारीहरू त्यहाँ स्थित कृषि प्रयोगशालामा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइबाट परीक्षण गरी विक्री वितरण गरिन्छ ।

