स्वास्थ्य/जिवनशैली

बीपी प्रतिष्ठानमा एमआरआई खरिद, एमसीएच सञ्चालन र रेफरल युनिट स्थापना प्रक्रिया सुरु


धरान: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमआरआई मेसिन खरिद, नयाँ मातृ तथा शिशु (एमसीएच) भवन सञ्चालन, अक्सिजन प्लान्ट मर्मत, रेफरल युनिट स्थापना तथा अस्पताल सेवाको व्यवस्थापन सुधारका काम अघि बढिरहेको जनाएको छ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका निर्देशक डाक्टर ईन्द्र लिम्बुले आफू निमित्त उपकुलपति रहँदा भएका प्रगति सार्वजनिक गर्दै प्रतिमिनेट २०० लिटर उत्पादन क्षमता रहेको ट्राइडेन्ट कम्पनीको अक्सिजन प्लान्ट मर्मतका लागि रिटेन्डर प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए।
उनका अनुसार अक्सिजन प्लान्ट आपूर्तिसम्बन्धी विवाद सर्वोच्च अदालतमा पुगेपछि अदालतले आर्बिट्रेसन (मेलमिलाप) मार्फत समाधान खोज्न प्रारम्भिक आदेश दिएको छ। सोही आदेशअनुसार कम्पनीसँग आवश्यक प्रक्रिया अघि बढाइएको उनले बताए।
रेडियोलोजी विभागले तयार गरेको आवश्यकता र प्राविधिक मापदण्डका आधारमा एमआरआई मेसिन खरिद प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ। प्रतिष्ठानले असार १९ गते सूचना प्रकाशित गरी विभिन्न आधिकारिक आपूर्तिकर्तालाई प्रस्तुतीकरणका लागि आह्वान गरेको थियो। प्राप्त सुझावका आधारमा विज्ञ टोलीले अन्तिम स्पेसिफिकेसन तयार गरिरहेको र छिट्टै टेन्डर आह्वान गरिने जनाएको छ।
लामो समयदेखि सञ्चालनमा आउन नसकेको नयाँ एमसीएच भवन सञ्चालनका लागि पनि आवश्यक गृहकार्य भइरहेको प्रतिष्ठानले जनाएको छ। शिक्षा, स्वास्थ्य तथा गृहमन्त्रीले भवन निरीक्षण गरी शीघ्र सञ्चालनमा ल्याउन निर्देशन दिएपछि आवश्यक प्रक्रिया तीव्र बनाइएको उल्लेख गरिएको छ।

यसैबीच, प्रतिष्ठानको कलेज अफ डेन्टल सर्जरीमा केयरस्ट्रिम कम्पनीको अत्याधुनिक सीबीसीटी मेसिन जडान गरी असार १२ गतेदेखि सेवा सञ्चालनमा ल्याइएको छ। एआई प्रविधिमा आधारित उक्त प्रणालीले न्यून विकिरणमा उच्च गुणस्तरको थ्रीडी इमेजिङ उपलब्ध गराउने प्रतिष्ठानले जनाएको छ।
सेवाग्राहीको भीड व्यवस्थापन र प्रतीक्षा समय घटाउने उद्देश्यले स्वास्थ्य बीमा, सामान्य ओपीडी तथा विशेष सेवाका दर्ता र बिलिङ काउन्टर पुनः व्यवस्थापन गरिएको छ। स्वास्थ्य बीमातर्फ दर्ता काउन्टर ७ वटा र बिलिङ काउन्टर ६ वटा पुर्‍याइएको छ भने सामान्य ओपीडीतर्फ पनि काउन्टरको संख्या बढाइएको प्रतिष्ठानले जनाएको छ।
त्यसैगरी, बिरामी प्रेषण राष्ट्रिय निर्देशिका–२०८१ अनुसार असार ४ गते अस्पतालस्तरीय प्रेषण समन्वय समिति गठन गरी रेफरल युनिट स्थापना प्रक्रिया अघि बढाइएको छ। समितिको उद्देश्य बिरामीलाई समयमै उपयुक्त स्वास्थ्य संस्थामा प्रेषण सुनिश्चित गर्नु, अनावश्यक रेफरल न्यूनीकरण गर्नु तथा उपचार सेवाको गुणस्तर सुधार गर्नु रहेको प्रतिष्ठानले जनाएको छ।

छुटाउनुभयो कि ?

धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।
धरान विशेष स्वास्थ्य/जिवनशैली

विपी प्रतिष्ठानका चिकित्सकहरूको सामूहिक राजिनामा 

विपि प्रतिष्ठान धरानका १सय ७७ जना शिक्षक लगायत चिकित्सकहरु द्वारा सामूहिक राजीनामा प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको छन ।