
धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अईन्द्र विक्रम बेघाले नर्सिङ पेसालाई सेवा, अनुशासन र समर्पणको प्रतीक भएको बताएका छन्।
मंगलबार २०६ औँ विश्व नर्सिङ दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले अस्पतालमा डाक्टरको भूमिका महत्वपूर्ण भए पनि बिरामीको २४ सै घण्टा हेरचाह गर्ने भएकाले नर्सहरूको भूमिका अझ विशेष हुने बताए।
उनले नर्सहरूको व्यवहार र सेवाभावले बिरामीलाई निको पार्न ठूलो सहयोग पुग्ने धारणा राखे।
कार्यवाहक प्रमुख बेघाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र उपमहानगरपालिकाबीचको सम्बन्ध ‘नङ र मासु’ जस्तै हुनुपर्नेमा जोड दिए। प्रतिष्ठानको पूर्वाधार विकास र सुधारका लागि नगरपालिकाले सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे।
उनका अनुसार प्रतिष्ठानको वृद्धि विकास तथा संरचनागत सुधारका लागि उपमहानगरपालिकाले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। उक्त रकम प्रतिष्ठानको पूर्वाधार तथा सुधारका काममा खर्च गरिने उनले बताए।
बेघाले नर्सहरूलाई आफ्नो पेसाप्रति गर्व गर्न, आलोचनाको प्रवाह नगरी सेवाभावका साथ काम गर्न आग्रह गरे। उनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई धरानको गौरवका रूपमा उल्लेख गर्दै यसको संरक्षण र विकासमा सबैको योगदान आवश्यक रहेको बताए।
विश्वमा नर्सिङ सेवाको सुरुवात गर्ने फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिन १२ मेलाई संसारभर विश्व नर्स दिवसका रूपमा मनाउने गरिन्छ।
२०६औँ अन्तर्राष्ट्रिय नर्स दिवस २०२६ विभिन्न कार्यक्रम गरी मनाइएको छ। यस वर्षको नारा “हाम्रा नर्स, हाम्रो भविष्य, सशक्त नर्सहरूले जीवन बचाउँछन्” यस वर्षको नाराले नर्सहरूको भूमिका केवल बिरामीको हेरचाहमा मात्रै सीमित नभई स्वस्थ समाज र सुरक्षित भविष्य निर्माणमा समेत महत्वपूर्ण रहेको सन्देश दिएको छ। दक्ष, सम्मानित र सशक्त नर्सहरूले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै असंख्य जीवन बचाउन महत्वपूर्ण योगदान पुर्याउने विषयलाई नाराले उजागर गरेको छ।
उक्त अवसरमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले नियमित रूपमा विश्व नर्सिङ दिवस मनाउँदै आएको जनाएको छ। कार्यक्रममा प्रतिष्ठानमा २० वर्षदेखि निरन्तर कार्यरत ९ जना नर्सहरूलाई सम्मान गरिएको थियो। साथै पूर्व मेट्रोन तथा कलेज अफ नर्सिङमा कार्यरत रहिसकेका पदाधिकारीहरूलाई पनि सम्मान गरिएको थियो।
उनीहरूलाई प्रतिष्ठानका निमित्त प्रमुख डाक्टर ईन्द्र लिम्बु तथा अईन्द्र विक्रम बेघाले सम्मान गरेका थिए। नर्सिङ डेकै अवसरमा निमित्त प्रमुख लिम्बुलाई समेत हार्दिक बधाई तथा सम्मान व्यक्त गरिएको थियो।
कार्यक्रम नेपाल नर्सिङ सङ्घका अध्यक्ष तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी मेट्रोन कला थापाको सभापतित्वमा सम्पन्न भएको थियो।
अध्यक्ष थापाले प्रतिष्ठानमा ८ सय ६४ जना नर्सहरू कार्यरत रहेको जानकारी दिँदै नर्सहरू नै प्रतिष्ठान सम्हाल्ने दह्रो हाँगा भएको बताइन्। उनले नर्स र प्रतिष्ठानबीच ‘नङ र मासु’को सम्बन्ध कायम राख्न सुरक्षित र निर्धक्क भएर काम गर्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइन्।
उनका अनुसार स्वास्थ्य संस्थामा नर्सहरूको भूमिका उपचार प्रक्रियाको मेरुदण्डका रूपमा रहेको छ।
नेपाल नर्सिङ काउन्सिलका अनुसार हाल देशभर करिब १ लाख २२ हजार ३१३ जना नर्सहरू दर्ता भएका छन्। उक्त सङ्ख्यामा मिडवाइफ तथा अन्य श्रेणीका नर्सहरू समेत समावेश छन्। परिषद्को तथ्याङ्कअनुसार २५ हजारभन्दा बढी नर्सहरू विदेशिएका छन्।


