
नेपालमै पहिलो पटक गत शुक्रबारदेखि धरानमा जारी प्याराग्लाइडिङ प्रिमियर लिग ओपन एक्युरेसी सिरिजको ओभरअलतर्फको उपाधि प्याराग्लाइडर अमन थापाले जितेका छन् ।
नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघको आयोजनामा सुरु भएको एक्युरेसी सिरिज प्रतियोगिताको फाइनल स्पर्धामा विजेता विजेता हुँदै थापाले १ लाख ५० हजार रुपैयाँ प्राप्त गरे ।
एक्युरेसी ओभरअलतर्फ सागर नेपाली उपविजेता बने । उनले १ लाख रुपैयाँ प्राप्त गरे । भारतीय प्याराग्लाइडर अक्षय कुमार तेस्रो बन्दै ७५ हजार रुपैयाँ प्राप्त गरे ।
यस्तै खुल्ला महिलातर्फको उपाधि भारतकी श्रेयसी तामाङले जितिन् । उनले ४० हजार रुपैयाँ प्राप्त गरिन् । दोस्रो इस्का राईले २५ हजार रुपैयाँ प्राप्त गरिन् । मोरङकी विद्या राई तेस्रो बन्दा १५ हजार रुपैयाँ प्राप्त गरिन् ।
टिम विजेतातर्फको उपाधि अरुण जालहारी, अन्जन कुवर, पवन परियार र रिकी पोडेको समूहले जित्यो । यो समूहले ५० हजार रुपैयाँ प्राप्त गर्यो । दोस्रो बनेको युवराज सुनुवार, सुमनजंग थापा, विष्णु तिम्सिना र रोशन बस्नेतको समूहले ३० हजार रुपैयाँ प्राप्त गर्यो ।
तेस्रो बन्न सफल कृष्णबहादुर क्षेत्री, अमन थापा, विष्णु कार्कीको समूहले २० हजार रुपैयाँ प्राप्त गर्यो ।
एक्युरेसी नेसनल महिलातर्फको उपाधि इक्सा राईले जित्दा उनले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् । दोस्रो विद्या राईले २० हजार पाइन् । तेस्रो बनेकी देवकीमाया सुनुवारले १० हजार रुपैयाँ प्राप्त गरिन् ।
एक्युरेसी नेसनल पुरूषतर्फको उपाधि अमन थापा मगरले जिते उनले ३० हजार रुपैयाँ प्राप्त गरे । दोस्रो बनेका सागर नेपालीले २० हजार रुपैयाँ पाए । तेस्रो पवन परियारले १० हजार रुपैयाँ पाए ।
धरान–४ स्थित छोटीमोरङमा आयोजित प्रतियोगितामा नेपाल र भारतका प्याराग्लाइडर खेलाडीको सहभागिता थियो । विगत चार दशकदेखिको प्याराग्लाइडिङ खेलको विकास र विस्तारको यात्रालाई निरन्तरता दिँदै आयोजित यो प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद्, नेपाल पर्यटन बोर्ड, कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालय र धरान उपमहानगरपालिका लगायतका निकायहरूको साथ र सहकार्य रहेको थियो ।



