
धरान: अन्तर्राष्ट्रिय आमन्त्रण २६ औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा ट्राईबेकरमा आयोजक धरान फुटबल क्लबले शानदार जित निकाल्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।
धरान रङ्गशालामा बिहीबार सम्पन्न उद्घाटन खेलमा धरान फुटबल क्लबले भारतको जर्जियन क्लबलाई ट्राइबेकरमा ४–२ गोल अन्तरले पराजित गरेको हो। निर्धारित समयमा दुवै टोलीबाट १–१ गोल भएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो।
जर्जियन क्लब भारतका तर्फबाट पहिलो हाफको ८औँ मिनेटमा हेमराज भुजेलले गोल गर्दै अग्रता दिलाएका थिए। त्यसको १० मिनेटपछि, खेलको १८औँ मिनेटमा धरान फुटबल क्लबका खेलाडीले बराबरी गोल फर्काएका थिए।
दोस्रो हाफमा आयोजक धरान फुटबल क्लबले आक्रामक खेल प्रदर्शन गर्दै पटक–पटक गोल गर्ने अवसर सिर्जना गरे पनि सफल हुन सकेन।
ट्राइबेकरमा धरान फुटबल क्लबका जर्सी नम्बर ८ का बिबेक राई, जर्सी नम्बर ७ का राज लिम्बू,जर्सी नम्बर १९ का प्रज्वल थापा र जर्सी नम्बर १५ का नगेन राईले गोल गरे।
जर्जियन क्लब भारतका तर्फबाट जर्सी नम्बर १५ का शारद मुन्दा र जर्सी नम्बर २० का साइजाले गोल गरे भने जर्सी नम्बर १८ का बक्स प्रधान र जर्सी नम्बर ११ का विशाल क्षेत्रीको प्रहार असफल रह्यो।
खेलको ‘म्यान अफ द म्याच’धरान फुटबल क्लबका गोलरक्षक बिपुल मगर घोषित भए। उनले नगद १० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे।
ट्राइबेकरमा धरानका खेलाडीहरूले उत्कृष्ट संयम र सटिक प्रहार गर्दै लगातार चार गोल गर्न सफल भएका थिए। घरेलु दर्शकको उत्साहपूर्ण समर्थन पाएको धरान फुटबल क्लबले खेलभरि आक्रामक दबाब कायम राखेको थियो। गोलरक्षक र डिफेन्डरको मजबुत प्रदर्शनले धरानको जित सुनिश्चित गर्यो।
यस जितसँगै आयोजक धरान फुटबल क्लब प्रतियोगिताको क्वाटरफाइनल चरणमा प्रवेश गरेको छ।
गोल्डकप विजेताले नगद १० लाख रुपैयाँ र उपविजेताले नगद ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । भने उत्कृष्ट खेलाडीले डियो स्कुटर प्राप्त गर्ने छ । प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार प्राप्त गर्ने छ।
प्रतियोगिताको उद्घाटन धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अइन्द्र विक्रम बेघाले गरेका थिए। कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राई विशेष अतिथिका रूपमा उपस्थित थिए।
शुक्रबार हुने खेलमा रोयल थिम्पु क्लब भुटान र प्लानिङ ब्वाइज क्लब काठमाडौँबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा एनआरटी काठमाडौँ, चर्च ब्वाइज युनाइटेड, नेपाल पुलिस क्लब, रोयल थिम्पु क्लब (भुटान)०, जर्जियन क्लब )भारत), लालिगुराँस एफसी पोखरा, सातदोबाटो युथ क्लब ललितपुर, प्लानिङ ब्वाइज क्लब काठमाडौँ, झापा–११ र आयोजक धरान फुटबल क्लब सहभागी छन्।

