धरान विशेष

धरानमा निजी विद्यालय र कांग्रेस उम्मेदवार तामाङबीच अन्तरक्रिया

धरानमा रहेका निजी (संस्थागत) विद्यालयहरूले नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार सुजेन्द्र तामाङसँग अन्तरक्रिया गरेका छन्।

आइतबार धरान–९ स्थित बगैचालाईनमा आयोजित कार्यक्रममा निजी विद्यालयप्रति नेपाली कांग्रेसको धारणा र प्रतिबद्धताबारे छलफल गरिएको हो। कार्यक्रमको संयोजकत्व निजी विद्यालयतर्फबाट भगत लिम्बु र दीपक घिमिरेले गरेका थिए।

अन्तरक्रियामा बोल्दै उम्मेदवार सुजेन्द्र तामाङले शिक्षा विधेयकका विषयमा नेपाली कांग्रेस प्रतिबद्ध रहेको बताए। उनले पार्टीको नीति निजी क्षेत्रको लगानीलाई जोखिममा पार्ने नभई अझ सुरक्षित र लगानीमैत्री बनाउने रहेको स्पष्ट पारे।

उनले नेपालको शिक्षा क्षेत्रलाई वर्तमान अवस्थामा पुर्‍याउन निजी विद्यालयहरूको ठूलो योगदान रहेको उल्लेख गर्दै निजी क्षेत्रसँगै नेपाली कांग्रेस उभिने प्रतिबद्धता दोहोर्‍याए। “निजी लगानी जोखिम होइन, सुरक्षित हुनुपर्छ। शिक्षामा प्रतिस्पर्धा वैज्ञानिक हुनुपर्छ,” उनले भने, “शिक्षामा नवीन लगानी र सुरक्षित वातावरण आवश्यक छ।”

युवा नेतृत्व र पार्टी रूपान्तरणका विषयमा तामाङले नेपाली कांग्रेस ‘जेन–जी’ को भावना अनुसार रूपान्तरण हुँदै गएको दाबी गरे। यसपटकको निर्वाचनमा १६५ वटै निर्वाचन क्षेत्रमा ६६ प्रतिशतभन्दा बढी युवालाई उम्मेदवार बनाइएको उनको भनाइ थियो।

कार्यक्रममा उनले नेपालको अर्थतन्त्रको मेरुदण्ड कृषि र पर्यटन रहेको उल्लेख गर्दै धार्मिक, पर्यावरणीय तथा खेल पर्यटनको विकासका लागि आवश्यक पूर्वाधार निर्माणलाई पार्टीको घोषणापत्रमा समेटिने जानकारी दिए।

अन्तरक्रिया कार्यक्रममा धरानका २४ वटा निजी विद्यालयका सञ्चालकहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी सञ्चालकहरूले शिक्षा विधेयक खारेज हुनुपर्ने माग गर्दै आगामी दिनमा निजी विद्यालयप्रति स्पष्ट नीति र व्यवस्था ल्याउने दललाई मात्र मतदान गर्ने बताएका छन्।

सञ्चालकहरूले निजी विद्यालयहरूले ठूलो लगानी गरेर रोजगारी सिर्जना गर्दै शिक्षा क्षेत्रमा योगदान पुर्‍याएको उल्लेख गर्दै आफूहरूले कहिल्यै राज्यका लागि अवरोध सिर्जना नगरेको दाबी गरे। निजी विद्यालयहरूले राज्यप्रति कुनै अपराध नगरेको भए पनि आफूहरूलाई अपराधीझैँ व्यवहार गरिएको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका थिए।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।