
धरान: बास्केटबल खेलाडी स्वर्गीय रेवाहाङ रुछेन्वुङ राईको स्मृतिमा हुने चौथो अन्डर १८ धरान मेघा रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिता आगामी माघ ६ गते देखि हुने भएको छ ।
बुधवार पत्रकार सम्मेलन गर्दै आगामी माघ ६ गतेदेखि ११ गतेसम्म हुने प्रतियोगिताको फाइनल खेल थ्री पोईन्ट कम्पिटिशन हुने जानकारी दिएको हो ।
प्रतियोगितामा सुनसरी, मोरङ र झापाका विद्यालयहरूको सहभागिता रहने सङ्घका अध्यक्ष नारायण सुवेदीले बताए ।
सुवेदीले प्रतियोगितालाई कोशी प्रदेश स्तरीय प्रतियोगिता बनाउन धनकुटाबाट पनि विद्यालयहरूको सहभागिता गराउन पहल भइरहेको जानकारी दिए । आगामी वर्षहरूमा इलाम र उदयपुरबाट पनि विद्यालय सहभागी गराउन प्रयास भइरहेको बताए ।
प्रतियोगितामा कक्षा १० सम्म मात्र पढाई हुने विद्यालयबाट १२ जना खेलाडी नै कक्षा १० सम्मका सहभागी हुन पाउनेछन् । तर, प्लट टु पनि रहेको विद्यालयबाट भने कक्षा १० सम्मका ६ जना खेलाडी र कक्षा ११ र १२ का ६ जना खेलाडीहरूले भाग लिन पाउने सङ्घका अध्यक्ष सुवेदीले बताए ।
थ्री पोईन्ट कम्पिटिशन हुने प्रतियोगिताको फाइनल खेलमा एक मिनेटमा सबैभन्दा बढी स्कोर गर्ने खेलाडीलाई पुरस्कृत गरिने सुवेदीले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।
यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद, ट्रफी र प्रमाणपत्र पाउनेछन् भने उदीयमान खेलाडीलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
डिपोट स्कुलका कक्षा १० मा अध्ययनरत विद्यार्थी रेवाहाङ बास्केटबल खेलाडी थिए । उनको २०७७ माघ २० गते असामयिक निधन भएको थियो । उनको खेलप्रतिको रुचिलाई मध्यनजर गर्दै परिवारले प्रतिष्ठान र अक्षयकोष स्थापना गरेर धरान मेघा हिमालयन कलेज, बास्केटबल सङ्घसँग सहकार्य गरी प्रतियोगिता सुरुवात गरेको हो ।प्रतियोगिताको रेवाहाङ स्मृति प्रतिष्ठान, सुनसरी बास्केटबल सङ्घ र धरान मेघा हिमालयन कलेजले संयुक्त गर्ने भएका छन् ।
रेवाहाङका बुबा एवं प्रतिष्ठानका अध्यक्ष रेवती रमण राईले छोराको खेलप्रतिको लगावलाई सम्मान गर्दै उनको अधुरो सपनालाई पुरा गर्न प्रतियोगिता आयोजना गरिएको बताए । ‘रेवाहाङको बास्केवटवल खेलप्रतिको लगाव थियो, उसको सम्मानमा र अधुरो रहेको सपना पुरा गर्न उनीजस्तै खेलाडीहरू उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता सुरुवात गरिएको हो,’ उनले भने,‘रेवाहाङ अब हाम्रो परिवारको मात्र छोरा रहेन, यो समाजको, खेलाडी र खेलप्रेमीहरुको भयो ।’
धरान १८ निवासीका स्वर्गीय रेवाहाङ राईको स्मृतिमा प्रतियोगिता सुरु गरिएको हो । दिवङ्गत राईको २०७७ माघ २० गते १६ वर्षको उमेरमा असामयिकको निधन भएको थियो ।
दश कक्षाका छात्र रेवाहाङ राईको असामयिक निधनपछि बुबा रेवती रमण राई र आमा सुजता राईले उनको स्मृतिमा अक्षयकोष स्थापना गरी प्रतियोगिता आयोजनाको सुरुवात गरेका हुन ।
मेघा हिमालयन कलेजका प्रिन्सिपल भास्कर पौडेलले यो वर्ष पुरस्कार राशीमा ५ हजार वृद्धि गरिएको बताए ।
अक्षयकोषमा दुई लाख रुपैयाँ रहेको धरान मेघा हिमालयन कलेजका प्रिन्सिपल पौडेलले जानकारी दिए ।साम्पाङ

