
धरान १ मा कुल १ हजार २४७ घरधुरीमा बसोबास गर्दै आएका ९३८ बालबालिका मध्ये ४६२ बालक र ४७६ बालिका रहेको धरान वडा १ लाई शुक्रवार आयोजित घोषणा सभामा धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्र विक्रम बेघाले बालमैत्री वडा घोषणा गरेका छन् ।
वडाका नियम र मापदण्डअनुसार वडा–१ ले आवश्यक ५१ वटा सूचक पूरा गरेपछि बाल मैत्री घोषणा गरिएको हो। धरानका ६ वटा वडाले ५१ सूचक पूरा गरेका छन्। ती वडाहरू क्रमश १, ९, २, ३, १० र ६ रहेका छन् ।
सभामा उपप्रमुख बेघाले ढिलो भएपनि १ नम्बर वडाले ५१ वटै सुचकमा शत प्रतिशत पुरा गरेको बताए । उनले बाल अधिकार संरक्षण सम्वद्र्धन गर्नु सबैको कर्तव्य र दायित्व रहेको भन्दै आम जनताको भावना समेटेर मात्र धरानको विकास सम्भव छ भन्दै सहकार्य र पारदर्शितामा जोड दिए।
वडाध्यक्ष यज्ञमणी आचार्यले धरान–१, धरानका २० वटै वडामध्ये २०औँ अन्तिम पटक बालमैत्री घोषणा भएको वडा रहेको जानकारी दिए। उनले वडा–१ ले पूरा गरेको ५१ सूचकहरूमध्ये १०० प्रतिशत सूचक पूरा गर्ने सूचिमा छैटौँ स्थान हासिल गरेको बताए।
आगामी योजना प्रस्तुत गर्दै वडाध्यक्ष आचार्यले अति विपन्न समुदायका बालबालिकालाई निःशुल्क स्वास्थ्य बीमा गरिने तथा बिरामी बालबालिकालाई निःशुल्क स्वास्थ्य जाँच सेवा प्रदान गरिने बताए।
कार्यक्रममा धरानका पूर्व मेयर तिलक राई, २० वटै वडाका वडाध्यक्ष तथा सदस्यहरू, कार्यपालिका सदस्यहरू, साथै विभिन्न राजनीतिक दलका स्थानीय नेताहरू नेपाली काँग्रेस धरानका सभापति श्याम पोख्रेल, नेकपा एमाले धरान उपाध्यक्ष पारस काङमाङ, नेकपा का स्थानीय संयोजक उद्धव लिम्बु र जसपा धरान अध्यक्ष ताजुब लिम्बुको उपस्थिति रहेको थियो।

