
धरान : धरान उपमहानगरपालिका–१९ मिलनचोकस्थित भित्री सडकखण्डमा बिष्णु स्कुलको बसले ट्याम्फुलाई ठक्कर दिँदा ट्याम्फु चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
बुधबार बिहान करिव ९ः४० बजे मिलनचोकबाट भोटेपुलतर्फ गइरहेको को १ क ७८२ नम्बरको विष्णु स्कुलको बसले विपरीत दिशाबाट आइरहेको को १ ह ८७७४ नम्बरको अटो ट्याम्फुलाई ठक्कर दिएको ईलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।
गम्भीर घाइते भएका ट्याम्फु चालक धरान–१९, एकता मार्गका २४ वर्षीय निमेष भुजेललाई तत्कालै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। तर उपचारकै क्रममा बिहान करिव ९ः५५ बजे उनको मृत्यु भएको ईलाका प्रहरीले जनाएको छ ।
अटोमा सवार धरान–१९का ४८ वर्षीय टिकराम लिम्बु घाइते भएका छन् र उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न स्कुल बस, अटो तथा बस चालक धरान–१४ का २९ वर्षीय अमिर तामाङलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएर घटना सम्बन्धी आवश्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

