
धरानः नेपाली कांग्रेसले आफ्नो टोल र वडा तहको संगठनलाई मजबुद, गतिशिल, चुस्त र दुरुस्त बनाउन तथा कार्यकर्ताहरुमा राजनीतिक एवम् सामाजिक जागरण ल्याउन मिसन रुट सशक्तिकरण नामक कार्यक्रम मार्फत अन्तर संवाद अभियान चलाउने भएको छ । अभियान सुनसरी क्षेत्र नं. १ अन्तर्गतका धरान उपमहानगर, बराहक्षेत्र र रामधुनी नगर गरी २७ सै वडामा सञ्चालन हुने क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताएका छन् । सुनसरी क्षेत्र नं. १ अन्तर्गतका कांग्रेसको प्रतिनिधिसभा क्षेत्र कार्यसमितिको आयोजना, प्रदेशसभा तथा पालिका कार्यसमितिको समन्वय र सम्बन्धित वडा कार्यसमितिको व्यवस्थापनमा अभियान सञ्चालन हुन लागेको हो ।
मिसन रुट सशक्तिकरण नाम दिइएको उक्त कार्यक्रममा पार्टीका वडामा रहेका क्षेत्रीय प्रतिनिधि, वडा कार्यसमिति, टोल कार्यसमिति र क्रियाशील सदस्यहरुसंग प्रत्यक्ष अन्तर संवाद गरिने बताईएको छ ।
कार्यक्रममा आगामी निर्वाचनमा युवा पुस्ताको सहभागितालाई सुनिश्चित गर्न, पार्टीको १५ औं महाधिवेशन समयमा गर्न क्रियाशील सदस्यको नविकरण गर्न, गत भदौ २४ गते जेनजीको नाममा अराजक समुहले तोडफोड गरेको धरानस्थित प्रतिनिधिसभा, प्रदेशसभा र नगरको संयुक्त पार्टी कार्यालय पुनःनिर्माण गर्न, पार्टीमा आमूल रुपान्तरण ल्याउन, संगठनको सुदृढिकरण तथा पार्टीमा शुद्धिकरण गर्न र आम कार्यकर्तामा उत्साह र मनोवल अभिवृद्धि गरी व्यापक जागरण ल्याउन विशेष जोड दिइने जनाईएको छ ।
अभियानवाट गत भदौ २३ र २४ गते पछिका उत्पन्न भएको असहज, तरल र अन्यौलपूर्ण राष्ट्रिय राजनीति र पार्टीभित्र रुपान्तरण हुनुपर्ने, नियमित वा विशेष महाधिवेशन हुनुपर्ने लगायतका विषयमा भईरहेको वैचारिक मतभेदका कारण तल्लो तहका कार्यकर्तामा मौलाएको निराशा र उदासिनतालाई आशा र उत्साहमा परिणत गर्न मद्दत पुग्ने विश्वास लिईएको छ ।
निर्वाचनले मात्र मुलुकलाई विद्यमान राजनीतिक एवम् संवैधानिक संकटवाट मुक्त गराउन सक्ने भएकाले कांग्रेसको यो अभियानवाट फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्यको निर्वाचन भयरहित वातावरणमा निष्पक्ष र धांधली रहित सम्पन्न गर्न गराउन कार्यकर्ता र जनतामा सचेतना आउने र राज्यको समेत ध्यानाकर्षण भई निर्वाचन पक्षधर सबैमा सकरात्मक सन्देश पुग्ने समेत विश्वास लिइएको छ ।
अभियानमा नेपाली कांग्रेसका केन्द्र देखि टोल तहसम्मका नेता तथा कार्यकर्ता र भातृ एवम् शुभेच्छुक संस्थाका साथीहरुको सहभागिता रहने जनाउंदै सम्बन्धित सबैलाई अभियानमा जोडिन आग्रह गरिएको सभापति तामाङले बताएका छन् । मिसन रुट सशक्तिकरण नाम दिईएको अन्तर संवाद अभियान रामधुनी नगरपालिका वडा नं. ६ र ७ मा बक्लौरीवाट शुरु हुने जनाईएको छ ।

